काठमाडौं, पुस २८ - स्विट्जरल्याण्डमा मिश्रि त प्रणालीको शासकीय स्वरुपमा प्रमुख राजनीतिक दलहरुसँग आफूहरुले पनि सहमति जनाएको कांग्रेस नेता अर्जुन नरसिंह केसीले स्पष्ट पारेका छन् ।संसदीय दलका नेता रामचन्द्र पौडेलले स्विट्जरल्याण्डमा कुनै पनि सहमति नभएको बताएको केही घण्टामै केसीले रिपोर्टर्स क्लवको साक्षात्कारमा केसीले ज्यूरिचमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणालीमा पार्टीको तर्फबाट आफूले सहमति गरेको बताएका हुन् । ज्यूरिक सहमतिप्रति आफू र कांग्रेस प्रतिबद्ध रहेको उनले बताए ।
'ज्यूरिकमा सहमति भएकै हो । त्यसमा हामि प्रतिबद्ध छौ तर अहिले सहमतिमा भएका अन्य विषयलाई छाडेर शासकीय स्वरुपमा मात्रै काग्रेसले सहमति गरेर पछाडी फर्कियो भन्नु न्याय संगत हुँदैन,' उनले भने, 'सबै सहमतिलाई प्याकेजमै कार्यान्वयन गरौ हामि शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणाली मान्न तयार छौं ।' केसीले ज्यूरिच सहमतिमा सेना समायोजन, सत्ता साझेदारी र संविधान निर्माणका विषयलाई ४५ दिनभित्र पुरा गर्ने कार्यतालिकासहित सहमति भएकोमा अन्य कुनै पनि सहमति कार्यान्वयन नगरी केवल शासकीय स्वरुपलाई मात्रै अगाडि ल्याएर कांग्रेसलाई घेर्ने काम भएको आरोप लगाए ।


