Blogger Templates

चिनिया व्यक्तिहरु द्वारा अदालत मा तोडफोड

नेपालमा गुण्डागर्दी गर्न के नेपालीहरुको कमि थियो र ! युथफोर्स, वाइसीएल, नेविसंघ नामधारी पार्टीको खोल ओढेका गुण्डाहरु प्रशस्तै छन्। त्यतिले नपुगी जेलभित्रै गोली हान्नेदेखि बीच सडकमा गोली हान्नेसम्मका आयातीत भारतीय अपराधी पनि देखेकै हौँ हामीले। अब हुँदाहुँदा चाइनिजहरुको नि गुण्डागर्दी देखाउने थलो हुन पुगेछ नेपाल, हे दैव ! के साह्रो नेप्रिएका हौ यिनीहरु त ! अर्काको देशको राजधानी जस्तो ठाउँमा विदेशी नागरिकहरु हुल बाँडेर अदालतमा तोडफोड गर्ने अनि प्रहरीलाई ढुङ्गा हानी दोहोरो झडप गर्ने ! मुलाहरु उनीहरुको देशमा प्रदर्शनको उच्चारण गर्न पाउँदैनन्, त्यहाँको रिस हाम्रो देशमा पोख्न आएका हुन् कि कसो ?

कुरो के पर्‍यो ?
कुरो यसो हो। अस्ति शनिबार भक्तपुरको जगातीमा एकाबिहानै चार बजे तीन वटा गाडीमा खासातिर हिँडेका चिनियाँ नागरिकबाट ९७ हजार २२३ अमेरिकी डलर र करिब ११ लाख नेपाली रकम फेला पर्‍यो। महिला र पुरुष गरी नौ जना चिनियाँ पक्राउ परेका थिए। शरीरको विभिन्न ठाउँमा लुकाइएको रहेछ डलर उनीहरुको। पर्यटक भिसामा नेपाल आएका उनीहरु नेपालको गैरकानुनी बजारबाट संकलन गरेको डलर चीनको गैरकानुनी बजार लैजाँदै गरेको भन्दै छानबिन भइरहेको थियो। यो सम्बन्धमा छानबिन आन्तरिक राजस्व कार्यालयले गर्छ। उसले अनुसन्धानका लाषि म्याद थप गर्न हिजो साँझ पक्राउ परेकाहरुलाई जिल्ला अदालत भक्तपुर लगेको थियो। अब सुरु भयो फिल्मी शैली।
 
उनीहरुलाई प्रहरीले अदालतमा के ल्याएको थियो, पाँच वटा गाडी रोकिए एकपछि अर्को। झण्डै ४० जना चिनियाँ नागरिकको हुल झर्‍यो त्यसबाट। अदालतभित्रै छिरे उनीहरु। आफ्ना अभियुक्त साथीलाई तानेर भगाउन खोजे। तर सकेनन्। अनि अदालतको रजिस्ट्रार कक्षमा तोडफोड गरे। भित्र रहेकाहरुले झ्यालको सिसा, टेबुललगायत तोडफोड गरे। बाहिर रहेकाहरुले ढुङ्गा हाने। । प्रहरीले पनि लठ्ठी हानेर प्रतिकार गर्‍यो। दोहोरो झडप भयो। ढुङ्गा हान्ने दुई जना चिनियाँलाई प्रहरीले समात्न भ्यायो। अरु तितरबितर भए। पाँच प्रहरी र दुई चिनियाँ घाइते भए झडपमा।
 
यत्तिकैमा पक्राउ परेका दुई जनालाई छुटाउन फेरि चाइनिजहरु आउँछन् भन्ने सूचना आयो। त्यसपछि त भक्तपुरमा सुरक्षासम्बन्धी आपतकालीन बैठकै बस्नुपर्‍यो र सुरक्षा व्यवस्था कडा बनाउनु पर्‍यो।पक्राउ परेकालाई भने जिल्ला अदालतले सात दिनको म्याद थप गरेको छ। अनि ढुङ्गा हान्नेहरु नि? ठूला देशको ठूलै चाला। अरुको देशमा नेपाली यसरी पक्रेको भए के हुन्थ्यो? नेपालमा चाहिँ के भयो ? समातेको केही समय मै चिनियाँ दूतावासका कन्सुलरलाई लगेर बुझाइयो। हाम्रो देशका पुलिस घाइते भएको त के मतलब र ! अदालतमा भएको तोडफोड के मतलब र ! कानुन सानुन चिनियाँ दूतावाससामु लम्पसार ! अझ ती ढुङ्गा हान्नेहरुलाई ससम्मान बुझाएर रेड स्यालुट नै पो ठोके कि !
अब ती डलरसहित पक्राउ परेकालाई नि छाड्न दबाब आइरहेको छ रे। स्रोत नखुलेको डलर बोकेर हिँड्न नपाइने नेपाली कानुन थाहा भएन रे उनीहरुका नागरिकलाई। यस्तो पनि कुनै तर्क हो ? थाहा भएन भन्दैमा पाइन्छ र। भरे कुनै चाइनिजले हत्या गर्ला र हत्या गर्नुहुन्न भन्ने कानुन थाहा छैन भन्ला रे, छाड्ने उसलाई पनि? फेरि अवैध रुपमा लगिरहेको हैन, वैध रुप मै हो भन्ने उनीहरुलाई लागेको भए किन चाहिँ गुप्ताङ्ग र स्तनमा लुकाएर राखेको रे नि डलर ? सँधै भारतको प्रभावका बारेमा मात्र छलफल, विवाद र बहस गरिरहनेहरुलाई चीनको राजनीतिक मात्र हैन, अपराधीहरुको प्रभाव पनि कति साह्रो बढेको रहेछ भनेर यो घटनाले झसङ्ग पारिदिएको हुनुपर्छ।

No comments:

Post a Comment

Blogger Widgets