तीनदिनदेखि परेको हिउँले उच्च हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमीकोटका बासिन्दा मर्कामा परेका छन् । सिमीकोटमा हिउँ ३ फिट जमेको छ । गएको शनिबारदेखि लगातार परेको हिउँ अहिलेसम्म नरोकिएको बरगाउँका छिरिङ लामाले जानकारी दिनुभयो ।बाक्लो हिउँ परेका कारण त्यहाका बासिन्दालाई एक स्थानबाट अर्को स्थानमा जान समेत कठिनाई भएको छ । लगातार परेको हिउँले घरबाट बाहिर निस्कन समेत मुस्किल परेको लामा बताउनु हुन्छ ।
![]() |
हुम्लामा हिउँ परे पछिको दृश्य |
स्थानीयले घरमा खाना पकाउनका लागि चाहिने पानी ल्याउन धारामा जानसमेत नसकेको र आँगनमा जमेको हिउँ पगालेर खान बाध्य छन् । हिउँले जिल्लाका अधिकांश कार्यालयसमेत बन्द छन् । चिसो धेरै बढेकाले कार्यालयमा बसेर काम गर्न समस्या परेको जिल्ला प्राविधिक कार्यालयका देवी ऐडीले बताउनुभयो । उहाँका अनुसार निरन्तर रुपमा हिउँ परेका कारण चिसोले हात नै नचल्ने भएपछि कर्मचारी कार्यालयमा आउन नसकेका हुन् ।
हिउँका कारण जिल्लामा सञ्चालित स्नातक तहको परीक्षामा समेत समस्या भएको छ । चिसोले हात नै नचल्ने भएपछि परीक्षामा सोचेअनुसार परीक्षा दिन नसकेको स्नातक तह दोस्रो वर्षका परीक्षार्थी कालीबहादुर थापाले गुनासो गर्नुभयो । यसैगरी, जिल्लामा परेको भारी हिमपातले प्रवेशिका परीक्षाको तयारीका लागि ट्युसन पढिरहेका विद्यार्थी समेत प्रभावित भएका छन् । बिहान ७ बजे बेलुका ६ बजेसम्म अङ्ग्रेजी, गणित, विज्ञान र ऐच्छिक गणितको ट्युसन पढ्ने विद्यार्थीलाई समेत समस्या भएको अङ्ग्रेजीको ट्युसन पढाइरहेका मानसरोवर उच्च माध्यमिक विद्यालयका शिक्षक अमरबहादुर शाहीले बताउनुभयो ।
हिउँका कारण जिल्लाको एकमात्र यातायातको माध्यम हवाई सेवासमेत ठप्प भएको छ । हवाई सेवा ठप्प हुँदा जिल्लामा नेपालगन्ज, सुर्खेतदेखि आयात गरिने सामग्रीको समेत ढुवानी हुन नसकेपछि सामानसमेत नपाइने हुन थालेको छ । जिल्लाको हवाई मैदानमा कालोपत्रे गरेको भए पनि अबको एक हप्तासम्म हवाई सेवा सुचारु हुन नसक्ने सिमीकोट हवाई उड्डयन कार्यालयका प्रमुख टेकबहादुर पातलीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको तापक्रम माइनस १० डिग्रीसम्म पुगेको छ ।
जिल्लाका अधिकांश गाविसमा परेको हिउँले सिमीकोट, बरगाउँ, डाँडाफया, ठेहे, स्याँडा, लिमी, मुचु, रायालगायत झण्डै एक दर्जनभन्दा बढी गाविस धेरै प्रभावित भएका छन् । एकाएक चिसो बढेपछि जिल्लाको जनजीवन समेत प्रभावित भएको छ भने हिमपातले मुगु, जुम्ला, डोल्पा र कालीकोटका केही गाविसमा समेत प्रभाव पारेको छ ।
No comments:
Post a Comment