काठमाडौं, साउन ९-
नेपालका लागि साउदी अरेबियाका राजदूत अब्दुल्लाह बिन नासिर अल बुसरीले नेपालमा साउदी अरबको दूतावास एक वर्षभित्र खोलिने बताएका छन्। राजदूत बुसरीले हाल बङ्गलादेशबाट नेपालसम्बन्धी काम हेर्दै आएका छन्।
आफ्नो छदिने नेपाल भ्रमण सकिने अघिल्लो दिन राजदूत बुसरीले काठमाडौंमा पत्रकार सम्मेलनमार्फत् नेपालमा राजदूतावास वा कन्सुलेट कार्यालय खोलिने जानकारी दिए।
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घद्धारा आयोजित पत्रकार सम्मेलनमा उहाँले साउदी अरेबियामा कार्यरत करिब पाँच लाख नेपाली कामदारको सुरक्षाका लागि आफ्ना तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाए।
यही साउन ४ गते नेपाल आएका राजदूत बुसरीले नेपालमा रहँदा राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री, श्रम तथा यातायात व्यवस्थामन्त्री, सङ्घीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृतिमन्त्रीलगायतका उच्चअधिकारीसँग भेटवार्ता गर्नुभएको थियो।
भ्रमणका अवसरमा आपसी सम्बन्धबारे राम्रो कुराकानी भएको बताउँदै उनले नेपालको हावापानी र वातावरण सुन्दर लागेको प्रतिक्रिया दिए। उनले नेपाली तालिमप्राप्त कामदारको माग साउदी अरेबियामा अझै उच्च रहेको बताए।
सङ्घका अध्यक्ष सोमलाल बाटाजूले दूतावास खोल्नेलगायतका ११ सूत्रीय आफ्ना मागबारे राजदूत बुसरी सकारात्मक भएको पाइएको पत्रकारलाई जानकारी दिए। राजदूत बुसरी मङ्गलबार बङ्गलादेश फर्कंदैछन्।
No comments:
Post a Comment