Blogger Templates

मन्त्रिपरिषद् पुनर्गठनले राष्ट्रिय सरकार निर्माण नविथोल्ने माओवादी स्पष्टोक्ति

काठमाडौं, श्रावण ९ -
सत्तारुढ माओवादीले मन्त्रिपरिषद् पुनर्गठनले राष्ट्रिय सरकार निर्माण नबिथोल्ने स्पष्ट पारेको छ ।
सोमबार कांग्रेस सभापति सुशील कोइरालाको महाराजगञ्जस्थित निवासमा भएको तीनदलीय बैठकमा कांग्रेस, एमालेले प्रधानमन्त्री झलनाथ खनालले नै राजीनामा दिनेबेलामा सरकार पुनर्गठन गरे सहमति विथोलिने बताएपछि माओवादीले यस्तो स्पष्टोक्ति दिएको हो ।
'पार्टीको आन्तरिक कारणले मन्त्रिमण्डल समावेशी बनाउन पुनर्गठन गर्न लागिएको हो,' माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले भने, 'यसले राष्ट्रिय सहमतिको सरकार बनाउन कुनै प्रभाव पार्दैन ।'
संविधानसभाको म्याद थपअघि भएको सहमतिअनुसार प्रधानमन्त्री खनालले नै राजीनामा दिनुपर्ने आवाज उठिरहेकाबेला माओवादीले पुरानालाई फिर्ता बोलाउँदै २४ मन्त्री पठाउने निर्णय गरेको थियो ।
प्रधानमन्त्री खनाललेसमेत सोमबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर असन्तुष्टि जनाएका थिए । तर दाहालले भने प्रधानमन्त्रीलाई नयाँ मन्त्रीको नामावली बुझाइसकेका छन् ।
शीर्ष बैठकमा आफ्नो पार्टीले मन्त्रिपरिषद् पुनर्गठन तयारीप्रति असहमति प्रकट गरेको कांग्रेस नेता रामशरण महतले जानकारी दिए । उनले प्रधानमन्त्रीले राजीनामा दिनेबेला सरकार पुनर्गगठनले वातावरण बिग्रने चेतावनी दिए ।
एमाले पोलिट्ब्युरो सदस्य एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार प्रकाश ज्वालाले सरकार पुनर्गठनकाबारेमा एमालेले मंगलबार स्थायी समिति बैठकपछि आफ्नो धारणा तय गर्ने बताए ।
तीन दलबीच मंगलबारदेखि नै शान्ति प्रक्रिया र संविधान निर्माणमा ठोस कार्य अगाडि बढाउने निर्णय भएको छ । यसअघि सोमबार नै प्रधानमन्त्री खनालले शान्ति प्रक्रिया, संविधान निर्माण र सहमतिको सरकार निर्माणका विषयमा माओवादी अध्यक्ष दाहाल र कांग्रेस सभापति कोइरालासँग छलफल गरेका थिए ।
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्षत्रय मोहन वैद्य, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ कांग्रेस सभापति सुशील कोइराला, दलका नेता रामचन्द्र पौडेल, नेताहरु रामशरण महत र मिनेन्द्र रिजाल तथा एमालेबाट अध्यक्ष एवं प्रधानमन्त्री खनाल, बरिष्ठ नेता माधवकुमार नेपाल, मन्त्री घनश्याम भूसाल र पोलिट्ब्युरो सदस्य ज्वाला सहभागी थिए ।

No comments:

Post a Comment

Blogger Widgets