Blogger Templates

एसएलसीमा बोर्ड फस्ट हुनेहरूको विदेशमोह

नेपालको एसएलसीमा बोर्डफस्ट हुनेहरुको विदेश मोह निकै डरलाग्दो छ। एसएलसीमा सर्वोत्कृष्ट भएकाहरूबाट पक्कै पनि देशले ठूलो योगदानको अपेक्षा राखेको हुन्छ। तर, पछिल्लो पुस्ताका एसएलसी सर्वोत्कृष्टहरू भने स्वदेशमा भन्दा विदेशमै रमाएको पाइन्छ। उनीहरु अमेरिका, बेलायत, जापानलगायतका देशको मोहमा फसेका छन्। विशेष रिपोर्ट।

-०५० सालकी सर्वोत्कृष्ट गरिमा राणा हाल बेलायतमा छिन् । ग्यालेक्सी पब्लिक स्कुलबाट उनले एसएलसी उत्तीर्ण गरेकी थिइन् । एमबीबीएस नपढ्ने थोरै बोर्ड फस्र्टमध्येकी उनी एक हुन् । बेलायतमा उनको अध्ययनकार्य नभई श्रीमान्सँगै बसेको स्रोत बताउँछ ।
-०५२ सालको एसएलसीमा सर्वोत्कृष्ट भएका आयाम लामिछाने अहिले जापानमा छन् । वीरेन्द्र सैनिक आवासीय महाविद्यालय भक्तपुरबाट एसएलसी दिएका लामिछानेले सिभिलतर्फबाट त्यहाँ अध्ययन गरेका थिए । आयामका पिता पदमराज लामिछानेका अनुसार उनी अहिले जापानमा छन् । एसएलसी पास गरेर बूढानिलकण्ठबाट ‘ए’ लेभल पास गरेपछि उनी छात्रवृत्तिमा जापान गएका थिए । बाबु पदमराजका अनुसार आयाम अहिले टोकियो विश्वविद्यालयमा पीएचडी गर्दैछन् । रोगको औषधि अनुसन्धानमा लागेका छन् ।
-विश्वबन्धु बगाले ०५३ सालमा सिद्धार्थ वनस्थली स्कुलबाट एसएलसीमा सर्वोत्कृष्ट भएका थिए । सेन्ट जेभियर्समा साइन्स लिएर प्लस टू पढेपछि बगालेले पोखराको मणिपाल शिक्षण अस्पतालबाट एमबीबीएस गरेका थिए । एमबीबीएस सकेपछि उनी केही समय हेल्पिङ ह्यान्डमा बिरामी जाँचेर बसे । पछि उनी अन्तर्राष्ट्रिय आप्रवासी संगठनको मेडिकल सेक्टर (आईओएम) मा आबद्ध भए । बिरामी लिएर अमेरिका जाने–आउने काममा व्यस्त रहने गरेको बगाले बताउँछन् ।
-०५४ सालमा सिद्धार्थ इंग्लिस मावि काभ्रेबाट एसएलसीमा सर्वोत्कृष्ट भएका मदनकुमार बडाल अहिले अमेरिकामा छन् । उनले त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट एमबीबीएस सकेका थिए । एमबीबीएस सकेर चीनमा एक वर्ष अध्यापनसमेत गरेका थिए ।
-०५५ सालका सर्वोत्कृष्ट वीरेन्द्र घिमिरे एसएलसी पास गरेदेखि नै विदेशमा छन् । भीएस निकेतन स्कुलमा पढेर सर्वोत्कृष्ट भएका घिमिरेले एसएलसीलगत्तै बेलायतमा छात्रवृत्ति पाएका थिए । बेलायतमा कम्प्युटर इन्जिनियरिङ पढेपछि अहिले जर्मनीमा जागिर गरिरहेका छन् ।
-०५६ की सर्वोत्कृष्ट सुम्निमा सिंह अहिले पाकिस्तानमा छिन् । पारिवारिक स्रोतका अनुसार उनी पाकिस्तानमा चिकित्साशास्त्र पढ्दै छिन् । सुम्निमा साहित्यिक गतिविधिमा पनि संलग्न छिन् ।
-०५७ सालमा झापाका स्वच्छन्द सोङमेन सर्वोत्कृष्ट भएका थिए । एसएलसीपछि ह्वाइटहाउसमा साइन्स पढे र उनले त्रिवि शिक्षण अस्पतालमा एमबीबीएस अध्ययन पूरा गरेका छन्् । सोङमेनका बाबु अमरसिंहका अनुसार जापानमा पाँच वर्षे छात्रवृत्ति पाएर उतै गएका छन् । एमडी र पीएचडीका लागि मियाजाकी विश्वविद्यालयबाट छात्रवृत्ति पाएका हुन् ।
-पोखराका सुयोग भण्डारी ०५८ सालको एसएलसी परीक्षामा सर्वोत्कृष्ट भएका थिए । उनी अहिले अमेरिकामा छन् । पोखराको शिशु निकेतन स्कुलबाट एसएलसी दिएका भण्डारीले काठमाडौंको बूढानिलकण्ठबाट ‘ए’ लेभल पास गरेका थिए । शिशु निकेतन स्कुलले दिएको जानकारीअनुसार उनी अहिले बेलायतमा कम्प्युटर इन्जिनियरिङ पढ्दै छन् ।
-०४६ का राजन शर्मा र ०४८ का प्रवीणदेव पाठक पनि विदेशमै छन् । ०६२ सालयता एसएलसीमा सर्वोत्कृष्ट विद्यार्थीको नाम घोषणा गर्न छाडिएको छ ।
माथिका यी उदाहरणहरुले नेपालको एसएलसीमा बोर्डफस्ट हुनेहरुको विदेशमोह कति डरलाग्दो छ भन्ने राम्रो संकेत गर्छ । एसएलसीमा सर्वोत्कृष्ट भएकाहरूबाट पक्कै पनि देशले ठूलो योगदानको अपेक्षा राखेको हुन्छ । यो अपेक्षा स्वाभाविक पनि हो । तर, पछिल्लो पुस्ताका एसएलसी सर्वोकृष्टहरू भने स्वदेशमा भन्दा विदेशमै रमाएको पाइन्छ ।
प्रजातन्त्र पुनस्र्थापनापछिका एसएलसी परीक्षामा सर्वोत्कृष्ट ठहरिएका अधिकांशले चिकित्सा पेसा रोजेका छन् । उनीहरूमध्ये धेरैजसो विदेशमा छन् । केहीले विदेशमा बसेर पढाइलाई निरन्तरता दिएका छन् भने केही जागिर खाँदै छन् । चिकित्सापछि इन्जिनियरिङ पढ्नेको जमात ठूलो छ । प्रजातन्त्र पुनस्र्थापना पहिलेका बोर्डफस्र्ट कोही सामाजिक र कोही राजनीतिक क्षेत्रमा लागेरसमेत ख्याति कमाएका छन् ।
सरकारले ०६२ यता सर्वोकृष्ट घोषणा गर्न छाडेको छ । सर्वोकृष्ट घोषणाले अस्वस्थ प्रतिस्पर्धा निम्त्याएको भन्दै सरकारले पछिल्लो समयमा यस्तो व्यवस्था परिवर्तन गरेको हो । सर्वोकृष्ट घोषित भएकाहरु भने अधिकांश अहिले रोजगारी तथा अध्ययनका लागि विदेशमा रहेका छन् ।
एसएलसी सर्वोत्कृष्टमध्ये ०२६ सालका एसएलसी सर्वोत्कृष्ट डा. बाबुराम भट्टराई अहिले सबैभन्दा बढी चर्चामा छन् । डा. भट्टराई यसअघिको सरकारका अर्थमन्त्री भइसके । अर्थमन्त्री हुँदा उनले गरेको कामबाट सन्तुष्ट हुनेको जमात ठूलो छ । विदेशमा अध्ययन गरेर नेपालमा राजनीतिमा लागेका व्यक्तित्व हुन् उनी । इन्जिनियरिङ पढेका भट्टराई देशको इन्जिनियरिङ दृष्टिकोणले राजनीतिलाई सही दिशामा लैजाने प्रतिबद्धताका साथ अगाडि बढेका छन् । ०२४ सालका सर्वोत्कृष्ट डम्बरबहादुर नेपाली चिलिमे जलविद्युत् परियोजनाका संस्थापक हुन् । परियोजना सफल भएपछि उनी एकाएक चर्चामा आएका थिए । कामले यसरी चर्चामा आउने सर्वोत्कृष्टहरूमा कम छन् । किशोर थापा २०३१ सालको एसएलसीका सर्वोकृष्ट हुन् ।
सरकारले ०५१ सालमा सर्वोत्कृष्ट विद्यार्थीको नाम नै घोषणा गरेन । ०५९ सालका सर्वोत्कृष्ट विशाल ज्ञवाली र ०६० का विशाल खनाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा एमबीबीएस पढ्दै छन् । सर्वोत्कृष्ट दुवैजनाले रूपन्देहीबाट एसएलसी दिएका थिए । ज्ञवालीले न्यू होराइजन र खनालले एभरेस्ट बोर्डिङ स्कुलबाट एसएलसी दिएका हुन् । ज्ञवालीले एसएलसीपछि ह्वाइटहाउस इन्टरनेसनल र खनालले क्यास्पियन भ्याली कलेजमा प्लस टू गरेर अहिले एमबीबीएस पढिरहेका छन् ।
समीर श्रेष्ठ ०६१ मा काभ्रे माविबाट एसएलसीमा सर्वोत्कृष्ट भएका हुन् । उनी एसएलसीमा बोर्डफस्र्ट घोषित अन्तिम विद्यार्थी हुन् । समीर अहिले काठमाडौं विश्वविद्यालयमा एमबीबीएस प्रथम वर्षमा अध्ययन गरिरहेको काभ्रे माविका प्रधानाध्यापक कुमार मानन्धरले बताए । उनले एसएलसी दिएर क्यास्पियन भ्याली कलेजमा अध्ययन गरेका थिए । अहिले काठमाडौं विश्वविद्यालयमा एमबीबीएस दोस्रो वर्षमा अध्ययन गरिरहेका छन् । श्रेष्ठले एमबीबीएस सकेर नेपालमै सेवा गर्ने सोच रहेको बताए ।
घटदै छन् पास हुने विद्यार्थीहरु गतवर्षको तुलनामा यो वर्ष नौ प्रतिशत कम उत्तीर्ण
एसएलसी परीक्षा नियन्त्रित हुन थालेपछि उत्तीर्ण हुने परीक्षार्थीको प्रतिशत पनि घट्न थालेको छ । तीन वर्षयता अघिल्लो वर्ष करिब चार प्रतिशत कम उत्तीर्ण भएकामा यस वर्ष नौ प्रतिशत कम विद्यार्थी उत्तीर्ण भएका छन् । यो वर्षको नतिजाअनुसार यस वर्ष नियमिततर्फ ५५ दशमलव ५० र एक्जाम्टेडतर्फ १७ दशमलव ३० प्रतिशत उत्तीर्ण भएका छन् । यो वर्षको एसएलसी परीक्षा गत १० देखि १८ चैतसम्म भएको थियो । यो वर्ष देशभरि नै परीक्षामा कडाइ गरिएको थियो ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको नतिजाअनुसार यस वर्षको एसएलसीमा गत वर्षभन्दा ८ दशमलव ८१ प्रतिशत कम उत्तीर्ण भएका छन् । दुई वर्षअघि ०६५ सालको एसएलसीमा ६८ दशमलव ४७ प्रतिशत उत्तीर्ण भएका थिए । गतवर्ष करिब ६४ प्रतिशत उत्तीर्ण भएका थिए ।
परीक्षा नियन्त्रक सूर्य गौतमले गतवर्ष र यस वर्षका परीक्षार्थीको सिकाइको लेभल फरक भएकाले बढी अनुत्तीर्ण भएको बताए । नतिजा सार्वजनिक गर्दै नियन्त्रक गौतमले भने, ‘धेरै फेल भए भन्दैमा नजान्ने भए, मेहनती छैनन् भन्न मिल्दैन ।’ तर, शिक्षाविद्ले भने विद्यार्थीले नपढेको र शिक्षकले नपढाएका कारण धेरै फेल भएको प्रतिक्रिया दिएका छन् । गत १० देखि १८ चैतसम्ममा सञ्चालित ०६७ को एसएलसी परीक्षामा नियमित तथा एक्जाम्टेडका लागि ४ लाख ९६ हजार २ सय ४३ ले परीक्षा फाराम भरेकामा चार लाख ५४ हजार २२ जना परीक्षामा सहभागी भएका थिए । परीक्षामा सहभागीमध्ये २ लाख ३० हजार ४ सय ९९ परीक्षार्थी उत्तीर्ण भएका छन् ।
नियमिततर्फ ३ लाख ९७ हजार ७ सय ५९ सहभागी भएकामा २ लाख २० हजार ७ सय ६६ अर्थात् ५५ दशमलव ५० प्रतिशत उत्तीर्ण भएका छन् । जसमध्ये छात्र १ लाख २४ हजार ३ सय ५ र छात्रातर्फ ९६ हजार ४ सय ६१ उत्तीर्ण भएका छन् । विशिष्ट श्रेणीमा २० हजार १ सय ११ उत्तीर्ण भएका छन् । जसमध्ये छात्र ११ हजार ९ सय ९१ र छात्रा आठ हजार १ सय २० रहेका छन् । प्रथम श्रेणीमा ८२ हजार ६ सय १९ उत्तीर्ण छन् । जसमध्ये छात्र ४८ हजार ३ सय ५७ र छात्रा ३४ हजार २ सय ६२ उत्तीर्ण छन् ।
द्वितीय श्रेणीमा १ लाख ९ हजार ७ सय ९५ उत्तीर्ण भएकामा छात्र ५९ हजार ४ सय २८ र छात्रा ५० हजार ३ सय ६७ छन् । तृतीय श्रेणीमा ८ हजार २ सय ४१ मध्ये छात्र ४ हजार ५ सय २९ र छात्रा ३ हजार ७ सय १२ छन् । ४ हजार ९ सय २ ड्रप आउट, १ हजार ६ सय ३३ विथहेल्ड, ४ सय २१ क्यान्सिल र २ सय २७ परीक्षार्थीको नतिजा एक्सफेल्ड छ ।
एक्जाम्टेडतर्फ ५६ हजार २ सय ६३ परीक्षामा सम्मिलित भएकामा ९ हजार ७ सय ३३ अर्थात् १७ दशमलव ३० प्रतिशत उत्तीर्ण भएका छन् । विशिष्ट श्रेणी कसैले प्राप्त गरेका छैनन् । प्रथम श्रेणीमा १ सय ८०, द्वितीय श्रेणीमा ७ हजार ३ सय ६६, तेस्रो श्रेणीमा २ हजार १ सय ८७ उत्तीर्ण भएका छन् । एक्जाम्टेडतर्फका ३ हजार ६ सय ४६ ड्रप, ४ सय ३१ विथहेल्ड, १ सय ४२ क्यान्सिल गरिएको छ ।
नतिजा सार्वजनिक कार्यक्रममा बोल्दै शिक्षासचिव शंकर पाण्डेले किन कम उत्तीर्ण भए भन्ने विषयमा मूल्यांकन हुनुपर्ने बताए । उनले गुणस्तर कम भएकाले विद्यार्थी कम उत्तीर्ण नभएको बताए । उनले यसको समीक्षा गर्न शिक्षाविद् र सञ्चारकर्मीलाई आग्रह गरेका छन् ।
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला भने विद्यार्थीले नपढेको र शिक्षकले नपढाएका कारण धेरै फेल भएको विश्लेषण गर्छन् । शिक्षाविद् कोइरालाले भने, ‘विद्यार्थीलाई पास गरेर नै के हुन्छ र भनेर पढ्न छाडे, शिक्षकमा नपढाए पनि चिट चोराउन पाइन्छ भन्ने मानसिकता भयो ।’ जहिले देशमा आन्दोलन हुन्छ, त्यतिबेलाको एसएलसी रिजल्ट राम्रो भएको औंल्याए । उनले भने, ‘विगतको रेकर्ड हेर्दा एसएलसीको नतिजा आन्दोलनले निर्धारण गरेको छ, आन्दोलन भएको वर्ष रिजल्ट राम्रो आएको देखिन्छ ।’ उनले मूलप्रश्न परिवर्तन भएको बेला राम्रो र अरू बेला प्रतिशत घट्दै गएको समेत बताए ।
विगतमा जस्तै यस वर्ष पनि दुई विषयमा अनुत्तीर्णलाई पूरक परीक्षाको व्यवस्था गरिएको छ । पूरक परीक्षा २३ देखि ३० साउनसम्म सञ्चालन हुने पनिकाले जनाएको छ ।
यस वर्ष एसएलसीको प्रश्नपत्र नेपालमै छापिएको थियो । एसएलसी परीक्षाको इतिहासमा नेपालमा प्रश्नपत्र छापेको दास्रो पटक भएको अधिकारीले बताएका छन् ।
त्यसैबीच यस वर्षदेखि परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई ‘मार्कसिट’सँगै मूल प्रमाणपत्र प्रदान गर्ने भएको छ । नेपालमा एसएलसी परीक्षा सुरु भएको ७७ वर्षपछि पनिकाले यस्तो व्यवस्था गर्न लागेको हो । यसमार्फत प्रमाणपत्र पठाएको केही समयमै ४ करोडभन्दा बढी राजस्व संकलन हुने दाबी पनिकाको छ ।
यसअघि परीक्षाफल प्रकाशित भएको लामो समय पनि विद्यार्थीले मूल प्रमाणपत्र पाउन नसकेको गुनासो बढेपछि ‘मार्कसिट’सँगै मूल प्रमाणपत्र दिन लागिएको परीक्षा नियन्त्रक सूर्य गौतमले बताए । नियन्त्रक गौतमले जिल्ला शिक्षा कार्यालयबाट मूल प्रमाणपत्र दिने व्यवस्था भए पनि जिशिकाले नै चासो नदेखाउँदा लामो समयदेखि एसएलसी उत्तीर्ण अधिकांश विद्यार्थीले हालसम्म मूल प्रमाणपत्र लिन नसकेपछि नयाँ व्यवस्था गरी लब्धांकपत्रसँगै मूल प्रमाणपत्र दिन लागिएको बताए । अहिले पनिकाबाट पठाएका प्रमाणपत्र जिल्ला शिक्षा कार्यालयमै कुहिने, तर विद्यार्थीले समयमै मूल प्रमाणपत्र नपाउने गरेको कर्मचारीले बताए । समयमै विद्यार्थीसम्म मूल प्रमाणपत्र पुग्न नसकेका कारण कतिपयले दोब्बर दस्तुर तिरेरसमेत पनिकाबाट झिक्न बाध्य हुने गरेका छन् ।
पनिकाले परीक्षाफल प्रकाशित भएको करिब ६ महिनापछि जिल्ला शिक्षा कार्यालयमार्फत विद्यालयमा मूल प्रमाणपत्र पठाउने व्यवस्था गर्दा विद्यालयले विद्यार्थीलाई समेत जानकारी नदिने गरेका कारण पनिकाले एसएलसी परीक्षा उत्तीर्ण विद्यार्थीलाई एकैपटक दुवै प्रमाणपत्र दिने व्यवस्था गरेको हो । अघिल्ला वर्षमा क्षेत्रीय शिक्षा निर्देशनालयले मूल प्रमाणपत्र प्रमाणित गरी उपलब्ध गराउने गरेको थियो । विसं १९९० देखि नेपालमा एलएलसी परीक्षा सुरु भएपछि परीक्षा नियन्त्रण कार्यालयले एकैपटक २०५१ सालसम्मको मूल प्रमाणपत्र वितरण गरेको थियो । त्यसलगत्तै ०५२ देखि ०६३ सालसम्म क्षेत्रीय शिक्षा निर्देशनालयलाई जिम्मा दिएको थियो । पछिल्लो समयमा ०६२ सालदेखि पनिकाले प्रत्येक वर्ष जिशिकामार्फत मूल प्रमाणपत्र वितरण गर्दै आएको थियो ।
विगतको एसएलसी
२०६६
नियमिततर्फ ६४ दशमलव ३१ प्रतिशत उत्तीर्ण
अघिल्लो वर्षभन्दा चार प्रतिशत कम उत्तीर्ण
२०६५
अघिल्लो वर्षको रेकर्ड तोड्दै ०६५ मा
६८ दशमलव ४७ प्रतिशत उत्तीर्ण
करिब पाँच प्रतिशत बढी विद्यार्थी उत्तीर्ण
एक्जाम्टेडतर्फ ४७ दशमलव ६९ प्रतिशत उत्तीर्ण
२०६४
अहिलेसम्मकै सबैभन्दा बढी प्रतिशत उत्तीर्ण
उतीर्ण प्रतिशत नियमिततर्फ ६३.७३
एक्जाम्टेडतर्फका ३२ दशमलव २४ प्रतिशत
२०६३
उत्तीर्ण प्रतिशत ५८ दशमलव ६४
कक्षा १० बाट मात्र प्रश्न
२०६२
उत्तीर्ण प्रतिशत ४६ दशमलव ५१
एक्जाम्टेडमा १२ दशमलव शून्य ९ प्रतिशत
सर्वोत्कृष्ट विद्यार्थी घोषणा खारेज
२०६१
उत्तीर्ण ३८ दशमलव ७२ प्रतिशत
अघिल्लो वर्षको तुलनामा ८ प्रतिशतले कमी
सरकारी विद्यालयबाट २५ प्रतिशत मात्र उत्तीर्ण
२०६०
उत्तीर्ण ३२ दशमलन ५ प्रतिशत
सार्वजनिक विद्यालयको उत्तीर्ण प्रतिशत २६
हालसम्मका बोर्८फस्र्६हरू
१९९० पुष्पभक्त मल्ल
१९९१ यदुनाथ खनाल
१९९२ गोपालप्रसाद रिमाल
१९९३ श्यामकृष्ण गौतम
१९९४ चन्द्रदेव ओझा
१९९५ तीर्थप्रसाद प्रधान
१९९६ भरतप्रसाद प्रधान
१९९७ भुवनलाल प्रधान
१९९८ रेणुलाल सिंह
१९९९ तीर्थबहादुर प्रधान
२००० ज्ञानमणि आचार्य दीक्षित
२००१ विष्णुप्रसाद धिताल
२००२ रञ्जनमान शर्मा
२००३ उपेन्द्रमान मल्ल
२००४ भवानीशंकर राजवंशी
२००५ दामोदरप्रसाद कायलाद
२००६ शैयादमोहन शाह
२००७ नन्दकिशोर अग्रवाल
२००८ महवीरप्रसाद अग्रवाल
२००९ बाबुलाल अग्रवाल
२०१० पुरुषोत्तमनारायण श्रेष्ठ
२०११ दमलाल श्रेष्ठ
२०१२ रामबाबु शर्मा
२०१३ आनन्दमानसिंह अमात्य
२०१४ दिव्यरत्न शाक्य
२०१५ प्रकाशचन्द्र जोशी
२०१६ शिवप्रसाद अधिकारी
२०१७ रमेश शर्मा भट्ट
२०१८ प्रचण्डराज शाह
२०१९ रमेशानन्द वैद्य
२०२० दीपक बज्राचार्य
२०२१ भेषराज कँडेल
२०२२ महेन्द्रनाथ शर्मा
२०२३ प्रकाश मानन्धर
२०२४ डम्बरबहादुर नेपाली
२०२५ भक्तबहादुर आले
२०२६ बाबुराम भट्टराई
२०२७ आंगिता छिरिङ शेर्पा
२०२८ द्रेनप्रकाश रसाइली
२०२९ राजेन्द्रकुमार कवा
२०३० प्रमोदराज पोखरेल
२०३१ किशोर थापा
२०३२ रामचन्द्र शर्मा
२०३३ बलराम पाण्डे
२०३४ अनिलबहादुर तुलाधर
२०३५ विजयकृष्ण श्रेष्ठ÷सतिस बजाज
२०३६ उत्तमकृष्ण श्रेष्ठ
२०३७ द्वारिका श्रेष्ठ
२०३८ अच्यूतबाबु तिवारी
२०३९ लुना भट्ट
२०४० निशा धौभडेल
२०४१ शम्भुशरण शाह
२०४२ राजनलाल प्रधान
२०४३ दीपककुमार सिंह
२०४४ प्रमोद आचार्य
२०४५ राजेन्द्र गुरुङ
२०४६ राजन शर्मा
०४७ मानव भट्टराई
०४८ प्रवीणदेव पाठक
०४९ प्रकाश थपलिया
०५० गरिमा राणा
०५२ आयाम लामिछाने
०५३ विश्वबन्धु बगाले
०५४ मदनकुमार बडाल
०५५ वीरेन्द्र घिमिरे
०५६ सुम्निमा सिंह
०५७ स्वच्छन्द सोङमेन
०५८ सुयोग भण्डारी
०५९ विशाल ज्ञवाली
०६० विशाल खनाल
०६१ समीर श्रेष्ठ
०६२ देखि सर्वोकृष्ट घोषणा हुन छाड्यो ।

No comments:

Post a Comment

Blogger Widgets