
कार्यक्रममा बोल्दै बरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले धोबीघाटमा धोएर नेतृत्वको बिम्ब तयार नहुने बताए । उनले भने धोबीघाट टपरेहरु टपरी थापेर मन्त्री पद माग्दै हिंड्नु बिडम्बनापुर्ण कुरा हो । त्यस्तै बरिष्ठ पत्रकार किशोर नेपालले प्रचण्डलाई आफ्नो शक्तिको प्रयोग गरेर देखाउन आग्रह गरे। कार्यक्रमका अर्को बक्ता नागरिक समाजका अगुवा सुन्दरमणि दिक्षितले माओवादी नेताहरु शान्ति र संविधानको मुद्धामा भन्दा नेतृत्व र पद हत्याउन लागेकामा आपत्ति जनाए ।
कार्यक्रममा बोल्दै नागरिक अगुवा तथा बाम बिश्लेषक श्याम श्रेष्ठले भने बाबुराम र किरणले माओवादी खत्तम बनाउन लागे । उनले बाबुराम किन टुप्पी काटेका बाहुन तिर लागे भन्दै प्रश्न समेत गरेका थिए।आफ्नो शीर्ष नेतालाई ताछेर तेजोबध गर्ने कार्यले कुनै बिचारको निर्माण नहुने बताए। उनले भने नेतालाई सिध्याएर कस्तो पार्टी बनाउन चाहेको ? अहिले प्रचण्डलाई गिराएर आफु उढ्छु भनेर किरण र बाबुरामले नसोचे पनि हुन्छ ।
श्याम श्रेष्ठले आफ्नो भनाईको अन्त्य गर्दै भने माओवादी पार्टीलाई अमेरिका र भारतले सिध्याउन सकेको थिएन तर तपाई आफैंले सिध्याउन लाग्दै हुनुहुन्छ । प्रज्ञा भवनको हल खचाखच, भरिएको थियो । कार्यक्रममा नागरिक समाजका अगुवा पद्मरत्न तुलाधर लगायतका अधिकारवादी नेताहरु सहभागी थिए।माओवादीका तर्फबाट स्थायी समिति सदस्य वर्षमान पुन अनन्त, संचारमन्त्री अग्नि सापकोटा लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
सम्बोधनको सुरु गर्दै माओवादी अध्यक्ष प्रचण्डले पार्टीमा भएको अन्तरसंघर्षको कारण सहिद तथा बेपत्ता परिबार र सम्पुर्ण जनतामा भएको पीडाप्रति क्षमायचना क्षमायचना गरेका थिए। उनले भावुक बन्दै आफ्ना नेताहरुप्रति भएको आलोचनाले आफु दुःखी भएको बताए । उनले माओवादी पार्टीको बिशेषता बताउादै भने मैले नेतृत्व गर्न थालेपछि कम्युनिष्ट पार्टीमा परम्परागतरुपमा सोच्ने तरिका बदल्यौं ।
माओवादी भित्र भएको अन्तरसंघर्ष जायज भएको भन्दै उनले घुन पुत्ला नलागी आन्दोलन अगाडि बढ्छ भन्ने सोचाई बैज्ञानिक नभएको बताए । आफुले आफ्ना पार्टीमा रहेका किरण, बाबुराम, प्रकाश र बादल प्रति कुनै पुर्वाग्रह नरहेको बताए । उनले भने उहांहरु सबैलाई लिएर हामी एक ढिक्का हुन्छौं । हजारौं सहिदको रगतका कारण हामी पार्टी फुटाउन दिने छैनौं ।हजारौंको रगत पसिनाले माओवादी पार्टीको इतिहास बनेको बताउंदै यसलाई कसैले मेट्न नसक्ने ठोकुवा गरे । कार्यक्रमको संचालन एबिसी टेलिभिजनका बरिष्ठ पत्रकार शुभशंकर कंडेलले गरेका थिए ।
No comments:
Post a Comment