काठमाडौं, श्रावण १३ -
'यसरी साँढेजस्तो छाडा छोड्नु हुँदैन सभापति महोदय,' सभासद धनराज गुरुङले भने, 'यसमा अर्बौ रुपैयाँको चलखेल छ । यो सुडान घोटालाभन्दा ठूलो घोटाला हो ।'
'राम्रो काम गर्न खोज्दा हाम्रो नियत खराब देख्ने ?,' सभासद गुरुङले यति भन्न नभ्याउँदै नेपाल टेलिकमका महाप्रबन्धक विश्वनाथ गोयलले प्रतिवाद गरे, 'के भन्न खोज्नुभएको ?'
'नियमापत्ति सभापति महोदय,' बीचैमा पूर्वकानुनमन्त्रीसमेत रहेका सभासद प्रेमबहादुर सिंहको स्वर सुनियो, 'माननीय सभासदज्यू बोल्दाबोल्दै प्रतिवाद गर्ने ? संसद्को कारबाही चलिरहेको बेला प्रतिवाद गर्ने ? यो संसद्को मानहानि हो । मानहानि गर्नेमाथि तुरुन्त रुलिङ होस् ।'
कुरा टेलिकमको गुणस्तर, खरिद प्रक्रिया र पारदर्शिताका विषयमा बिहीबार बसेको संसद्को सार्वजनिक लेखा समितिको बैठकको हो । उक्त विषयमा टेलिकमका महानिर्देशक गोयलले 'जीएसएम एन्ड सीडीएमए ब्रिजिङ प्रोजेक्ट' बारे आफ्नो धारणा राखिसकेपछि समितिका सदस्यले थप जिज्ञासा राख्ने क्रममा उक्त भनाभन भएको थियो ।
सभासद गुरुङले चिनियाँ कम्पनी जेडटिइको उपकरण कम गुणस्तरको भएकाले नेपाल टेलिकमको मोबाइल सेवामा समस्या देखिएको जनाएका थिए । त्यसका बाबजुद टेन्डर प्रक्रियामा नगई सोही कम्पनीसँग सहमतिका आधारमा अर्बौको उपकरण किन्ने टेलिकमको तयारीबारे प्रश्न गर्दै उनले त्यसमा अर्बौको चलखेल रहेको दाबी गरेका थिए ।
उनको कुरा नसकिँदै महाप्रबन्धक गोयलले प्रतिवाद गरेपछि सभासद सिंहको पारो तातेको हो । समिति सभापति रामकृष्ण यादवले घटनालाई मत्थर पार्न तीन पटकसम्म प्रयास गरे । तर सिंहले औंलाले गोयलतर्फ देखाउँदै रुलिङ नगरेसम्म समिति चल्न नसक्ने बताए ।
सोही क्रममा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्षसमेत रहेका समिति सदस्य माथवरसिंह थापाले गोयलतर्फ औंला ठड्याउँदै 'समितिको अपमान गर्ने यो घुस्याहा को हो ? रुलिङ नगरे बैठकबाट बाहिरिन्छु,' भनेपछि महाप्रबन्धक गोयल आक्रोशित बने । गोयलले थापालाई औंला ठड्याउँदै 'मलाई घुस्याहा भन्ने चोर' भनेपछि स्थिति थप अनियन्त्रित बनेको थियो । 'हामीलाई चोर र घुस्याहा भन्ने ?' भन्दै समिति सदस्यहरू गोयलविरुद्ध कड्किएका थिए ।
सभापति यादवले महाप्रबन्धक गोयलले गरेको प्रतिवादप्रति समितिको ध्यानाकर्षण भएको र त्यसबारे पछि छलफल गर्ने जनाएपछि स्थिति सहज बनेको थियो । सभासद गुरुङले आफ्नो भनाइ नसकी प्रतिवाद गरेको र त्यसप्रति रुलिङ नभएको भन्दै थप कुरा राख्न अस्वीकार गरेका थिए ।
सरला रेग्मी, नारायण दाहाललगायतका सभासदले कर्मचारी र सभासद दुवैले परिधि र मर्यादाभित्र रहेर टिप्पणी गर्नुपर्ने बताए । सूचना तथा सञ्चार सचिव श्रीधर गौतमले समितिमा भएको उक्त घटनाप्रति माफी मागे ।
महाप्रबन्धक गोयलले पनि उक्त घटनाप्रति माफी मागे । 'समितिमा जुन कुरा उठ्यो, त्यसबाट मलाई ज्यादै चोट लाग्यो । कर्मचारीको पनि यो देशमा योगदान छ, उनीहरूको पनि इज्जत हुन्छ,' उनले भने, 'जुन घटना भयो, त्यसप्रति म क्षमाप्रार्थी छु ।'
सभापति यादवले 'मिनी पार्लियामेन्ट' मा भएको उक्त घटना दुःखद रहेको जनाए । 'हामीले सम्मान गरेरै तपाईंहरूलाई यहाँ आमन्त्रण गरेका हौं,' उनले भने, 'टेलिकमलाई कहाँ समस्या पर्यो भनेर बुझ्न र समस्या सुल्झाएर सहयोग गर्न बोलाइएका हौं, बाधा पुर्याउन होइन ।'
No comments:
Post a Comment