
परिवार र आफन्तले भने उनको निर्णयलाई राम्रो मानेका छैनन् । 'म खिन्न छु, बुबाले आफैंबाट परिवर्तन सुरु गर्छु भन्नुभएकाले फर्केर समर्थन गरेको हुँ । उहाँको अभियान सफल भएमात्रै मलाई न्याय हुनेछ,' सरलले भने, 'यहाँ आएर नेताहरूको कुरा सुन्दा बुबाको अभियान पूरा हुने सम्भावना छैन कि जस्तो बुझ्दैछु । त्यसो नभए मेरो भविष्य बिग्रने गरी मलाई फर्काउनुको कारण म बुबासित निरन्तर सोधिरहने छु ।'
माओवादी नेता दीनानाथ शर्माका छोरा साजन र गृहमन्त्रीसमेत रहेका माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल पनि चीनमा भाषा विषय अध्ययन गरिरहेका छन् ।
हिमालपुत्र सरलले पर्वतको भवानी -सामुदायिक) विद्यापीठबाट विद्यालय तह सकेका हुन् ।
हिमालका अन्य दुई छोराछोरी राजधानीको शिवपुरी सामुदायिक माविमा पढ्छन् । 'कुरामात्रै क्रान्तिकारी गरेर हुन्न, त्यसलाई व्यवहारमा उतार्नुपर्छ,' उनले भने, 'माओवादीका केही नेताहरू निजी विद्यालयमा लगानी गरिरहेका छन् । सहिदका छोराछोरी खर्च नभएर पढ्न पाएका छैनन्, आफ्ना छोराछोरी निजीमा निःशुल्क पढाइ रहेका छन् । यसले माओवादीको वर्गीय चरित्रलाई भ्रष्टीकरणतिर लगिरहेको छ ।'
क्रान्तिकारीले नेताहरूको लगानीमा चलेका निजी विद्यालय बन्द गर्न तथा छोराछोरीलाई निजीबाट निकालेर सामुदायिकमा भर्ना गर्न नेताहरूलाई सार्वजनिक आह्वान गरेको छ । दुई साताअघि पार्टी नेतृत्वलाई यसबारे तीनबुँदे लिखित जानकारी गराउँदै 'केन्द्रीय कमिटीको बैठकबाट निजीमा पढ्ने छोराछोरी सामुदायिकमा सार्न' आग्रह गरेको शर्माले बताए । माओवादीको अर्को जनवर्गीय संगठन अखिल नेपाल शिक्षक संघले पनि नेताका छोराछोरीलाई निजीबाट निकाल्ने र उनीहरूको लगानीमा चलेका विद्यालय बन्द गर्ने घोषणा गरेको थियो । तर यसपालिको शैक्षिक सत्रमा क्रान्तिकारी र शिक्षक संगठन दुवैको घोषणा कार्यान्वयन भएको छैन । पार्टीले आग्रह बेवास्ता गरे दोस्रो चरणमा कुन नेताका छोराछोरी कहाँ पढ्छन्, सार्वजनिक गर्ने उनीहरूले यसअघि नै घोषणा गरेका छन् ।
माओवादी शिक्षक संघले गरेको अध्ययनअनुसार माओवादी नेता सम्बद्ध करिब ७ सय विद्यालय छन् । अधिकांश नेताका छोराछोरी नाम चलेका निजी विद्यालयमा पढिरहेको तथ्यांक पनि उनीहरूले संकलन गरेका छन् । शिक्षक संघका अध्यक्ष गुणराज लोहनीले कुलमध्ये करिब १० प्रतिशत निजी विद्यालयमा माओवादीको स्वामित्व रहेको बताए । 'नेताका छोराछोरीलाई सामुदायिकमा सार्नुको अर्थ सामुदायिक विद्यालय सुधारको कार्यक्रम हो,' लोहनीले भने, 'मेरा छोराछोरी सामुदायिकमै पढ्छन् । वर्गीय संगठनको सुझावलाई पार्टीले ग्रहण गर्नुपर्यो ।'
No comments:
Post a Comment