Blogger Templates

प्रचण्डको अधिकार खोसिदै, संसदीय दलको नेतामा भट्टराई निश्चित, संगठनको जिम्मा वैद्यलाई दिने तयारी

तीन लाईन संघर्षबाट थला परेको माओवादीमा अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एक्लिएका छन् । उपाध्यक्ष द्वय बाबुराम भट्टराई र मोहन वैद्य एक कित्तामा उभिए पछि प्रचण्ड एक्लिएका हुन् । अव प्रचण्डलाई पार्टीको जिम्मेवारी मात्र दिइने भएको छ भने उपाध्यक्ष भट्टराईलाई संसदीय दलको नेता बनाईने भएको छ ।

मुलुकको सबै भन्दा ठूलो दल अर्थात शान्ति प्रकृयाको एक अंश एकीकृत नेकपा माओवादी भित्र देखिएको आन्तरिक किचलोले अहिले समग्र शान्ति प्रकृयानै अन्यौलमा परिरहेका बेला त्यसका शक्तिशाली अध्यक्ष पुष्पकमल दाहालको अधिकारलाई सिमित पारिने भएको छ । पार्टी, संसद र सरकारको सम्पूर्णाधिकार ओगटेका अध्यक्ष प्रचण्डलाई अव पार्टीको मात्र जिम्मेवारीमा सिमित गरिने भएको छ ।
कहिले भट्टराई त कहिले वैद्यलाई काखी च्यापेर पार्टी भित्र एकल नेतृत्व र जिम्मेवारी लिएका प्रचण्डलाई अहिले दुवै उपाध्यक्षले अफ्ठ्यारोमा पारेका छन् । पहिले समग्र पार्टीमा बहुमत देखिएका प्रचण्ड अहिले पदाधिकारीमा समेत अल्पमतमा परेका छन् ।
अध्यक्षको पक्षमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव पोष्टबहादुर बोगटी बाहेक अरु ४ जना पदाधिकारी उनको विपक्षमा छन् । यसबाट पनि के बुझ्न सकिन्छ भने पार्टी भित्र प्रचण्ड एक्लिदै गएका छन् ।
शुक्रबारदेखि सुरु भएको स्थायी समिति बैठकमा शीर्षतहका नेताहरुको कार्य विभाजनबारे छलफल सुरु भएको छ । बैठकमा संगठनात्मक जिम्मेवारी बाँडफाँट, पार्टी अन्तर्संघर्ष र सेना समायोजनबारे छलफल भएको प्रवक्ता दिनानाथ शर्माले जानकारी दिएका छन् ।
प्रवक्ता शर्माका अनुसार अध्यक्ष प्रचण्डलाई समग्र पार्टी, उपाधयक्ष भट्टराईलाई संसद र सरकार तथा अर्का उपाध्यक्ष वैद्यलाई संगठनको जिम्मा दिने तयारी अन्तिम चरणमा पुगेको छ ।
असार १० गते तीन दिनका लागि स्थगित केन्द्रिय समिति बैठक भने अझै बस्न सकेको छैन । स्थायी समिति बैठकले जिम्मेवारी हेरफेरको टुंगो लगाए पछि मात्र केन्द्रिय समिति बैठक बस्ने प्रवक्ता शर्माले जानकारी दिएका छन् ।

No comments:

Post a Comment

Blogger Widgets