Blogger Templates

अस्पतालको शैय्याबाट

आषड ३, २०६८ खिलानाथ ढकाल-
त्यस रात आक्रमणकारीको हातबाट फुत्किन नसकेको भए यसरी नागरिकमा झुल्किने अवसर सम्भवतः पाउने थिइन। मार्नै लागेका बखत निकालेको एउटा जुक्तिले मैले नयाँ जीवन पाएको छु। मध्यरातमा नेकपा (एमाले) को युथफोर्स कार्यकर्ताबाट पिटिँदा लागेका घाउमा खाटा बस्न थालेको छ। नोबेल मेडिकल अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न बसेको करिब दुई साता पुग्न लागेछ। नाकको शल्यक्रिया सकिएपछि अलि सजिलो लागेको थियो। गाँस टिप्न थालेको एक दिन भयो।
कानुनी राज्यको वकालत गर्ने सत्तामा हुँदा अपराधी लुकाएर बस्न लाज लाग्नुपर्ने हो। आफूलाई स्वतन्त्र प्रेसका पक्षपाती, कानुनी राज्यका पक्षपोषक, लोकतन्त्र अनि प्रजातन्त्रका साधक ठान्ने तर अपराधीलाई कानुनको कठघरामा उभ्याउन नसक्ने नकच्चराले भिन्दाभिन्दै चर्तिकला देखाएका छन्। कोही भन्छन्, आजै पक्रिन्छु, कोही भन्छन् अपराधीलाई कारबाही हुन्छ, अनि प्रहरी भन्छ, खोजी र अनुसन्धान तीव्र छ। तर खोई अपराधी कहाँ छन्? अपराधी जहाँ बसेको छ, त्यहाँ छापा हाने पो फेला पर्छ। हुनत, यति गर्ने आँट भइदिएको भए प्रहरीले गृहमन्त्रीको आदेश पर्खिनै पर्दैनथ्यो। गृहमन्त्री पनि लाचार साबित भए। अपराधी पक्रिने साहस देखाएनन /
झलनाथ खनाल त अपराधीका मात्र प्रधानमन्त्री जस्ता देखिए। ज्यान मुद्दाको किटानी जाहेरी परेको व्यक्तिलाई संरक्षण गरेर बस्नेलाई जनताले कसरी आफ्नो ठान्ने? पर्शुरामले खुलेआम भाषणबाजी र अन्तरवार्ता दिने आँट सरकारी संरक्षणबाटै न गरेका हुन्। सरकारी संरक्षण पाएपछि प्रेसविरुद्ध उत्रिने धम्की दिन उनीहरूलाई के गाह्रो भयो र? यो गुण्डाराजको प्रमुख कारक प्रधानमन्त्री खनाल र एमाले नेताहरू नै हुन्।
अस्पतालको शैय्यामा पल्टेका बेला प्रधानमन्त्री खनालको अनुहार आँखामा आउँछ। उनीसँग केही प्रश्न राख्न मन लागेको छ : उनले एमाले गुण्डाहरूको पार्टी होइन भनेका छन्। पर्शुरामजस्ता अपराधी आफ्नो पार्टीका सदस्य हुनै नसक्ने बताएका थिए। उसो भए खोइ त, पर्शुरामलाई कारबाही गरेको? हत्यारा, लुटेरा र भ्रष्टाचारी आफैँ पाल्ने अनि सुशासन र कानुनी राज्यको के वकालत गर्ने?
अपराधीले बनाएका घाउमा त खाटा बस्न थालेका छन् तर मेरो पीडा पर्शुराममाथि कानुनी कारबाही भएपछि मात्र कम हुनेछ। यो म एक्लैको सबालभन्दा पनि सम्पूर्ण सञ्चारकर्मीको सरोकारको विषय हो। पर्शुराम अहिले व्यक्तिभन्दा पनि प्रवृत्ति बन्न पुगेको छ। यस मुद्दाबाट उनलाई उम्काइयो भने फेरि अर्को कुनै पत्रकारको ज्यान जोखिममा पर्नसक्छ। पर्शुराम उम्के भने यो प्रवृत्ति मौलाउन सक्छ।
जेठ २२ गते दिउँसो एमाले पार्टी कार्यालय गएको बखत पर्शुरामले भित्र डाकेर 'त्यस्ता समाचार लेख्दा विचार पुर्‍याउनु, म को हुँ चिन्या हो? गुण्डाजस्तो लागे त्यस्तै व्यवहार गरुँला, अरुले नलेख्दा पनि त भयो, तिमीले किन लेख्यौ?' भन्ने धम्की मिसिएको प्रश्न गरेका थिए।
त्यही राति मलाई पर्शुरामका निकट सहयोगी मनोज राईलगायतले 'पर्शु दाईविरुद्धसमाचार लेख्ने?' भन्दै मार्ने प्रयत्न गरे। अन्त्यमा 'पर्शु दाइकैमा लगेर निसाफ गरौँला' भनी लैजान खोज्दा म उनीहरुको घेराबाट भाग्न सफल भएकाले बाँचे।
मरणासन्न हुनेगरी कुटिएको भन्दा पनि बढी पीडा त महेश बस्नेतहरूको कथनबाट भएको छ। उनले खानपिनमा भएको झगडा भनेर अपराधको ढाकछोप गर्ने दुस्साहस गरेका छन्। अदालत आक्रमण प्रकरणका मुख्य योजनाकार पनि पर्शुराम नै हुन् र उनैले स्वीकारेका पनि हुन्। पर्शुरामले बारम्बार समाचार खण्डन गर्न दिएको दबाब सामु नझुक्दा मेरो जीवनलीला समाप्त पार्ने योजना भएको हो। घटना यति स्पष्ट हुँदाहुँदै पनि त्यसलाई अरू रंग दिएर वा अर्थ लगाएर पर्शुराम बस्नेतलाई उन्मुक्ति दिइए त्यसको परिणाम गम्भीर हुनसक्छ। स्वतन्त्र प्रेस त बिस्तारै सपना बन्नपुग्छ नै उद्यमी व्यापारीले पनि राज्यलाई कर तिरेर पार पाउने छैनन्। गुण्डाहरूलाई 'संरक्षण'बापत मूल्य तिर्नु पर्नेछ। यस पटक प्रेसले मागेको गुहारमा सबै पेसा र वर्गका व्यक्तिले साथ दिएमा गुण्डाराजबाट उम्कने संभावना हुनसक्छ।

No comments:

Post a Comment

Blogger Widgets