Blogger Templates

तरवारधारी तीन महिना

खगेन्द्र संग्रौला  १७ जेठ २०६८
नेपाली राजनीति उत्तरआधुनिक विमर्शबाट खुबै प्रभावित छ । उसो त चालु नेपाली राजनीतिलाई उत्तरआधुनिकताको कम्पन केन्दै्र भने पनि हुन्छ । यसो भएको हाम्रा अल्छे राजनीतिकर्मीहरूले उत्तरआधुनिकताका पोथा पढेर होइन । भएको उत्तरआधुनिकताको कुटिल हावा यिनका मथिङ्गलमा स्वतः सङ्क्रमित भएर हो । उत्तरआधुनिकता अनिश्चयबोधी छ । यसमा प्रस्ट र बोधगम्य केही पनि हुँदैन । यसमा जे पनि बहुअर्थी हुन्छ । यसमा जे पनि निराकार र तरल हुन्छ । यसमा जे पनि उँधोउँधो बग्छ । अतः यो अधोमुखी छ । जति बुझ्न खोज्यो, यो त्यति नै बुझिँदैन । र नबुझिनु नै उत्तरआधुनिकताको मौलिक विशेषता हो भन्ने यसका कतिपय ज्ञानी भाष्यकारहरूको महान कथन छ । उत्तरआधुनिकतामा जीवन-जगत्लाई बुझ्न खोज्ने सबै यत्नहरू अनिश्चय, अज्ञेय र महाअन्योलको भित्तोमा ठोक्किएर चकनाचुर हुन्छन् । र जीवनको अर्थका यावत् खोजी, अवलोकन, उत्खनन र अन्वेषणहरू शून्यमा शून्यसरी बिलाउँछन् । हो, सोहीपरी छ, उकुच पल्टिएको घाउजस्तो सङ्क्रमणकालीन नेपाली राजनीति पनि ।
नेपाली राजनीतिका समस्याका गाँठा फुकाउन घरिघरि अनिश्चयबोधी 'बुँदेहरू' बनाइन्छन् । बाह्रबुँदे, सातबुँदे, पाँचबुँदे आदि । बुँदे बनाउनेहरू अन्तिम घडीमा लहडै-लहडमा र सनकै-सनकमा बनाइएका बुँदाहरूको आफूखुसी अर्थ लगाउँछन् । र आ-आफ्ना रुचि अनुसारका उल्टा अर्थ जुधाउँछन् । ती किचलो गर्छन् । ती आपसी अविश्वास, तिक्तता र विश्वासघातको खेती गर्छन् । र आफैँले जन्म दिएका बुँदेहरूको आफ्नै हातले निर्मम हत्या गर्छन् । बुँदेहरू बनाउने क्रम जारी छ । बुँदेहरूलाई मार्ने क्रम जारी छ । मानौँ यो क्रम अनन्त छ । र मानौँ बुँदेहरूलाई जन्माउने र मार्ने यो अथक क्रीडा सङ्घीय लोकतान्त्रिक गणतन्त्ररूपी जनताको नासो पश्चगामी भिउँटहरूलाई बुझाउने अनिष्ट दिशातर्फ लक्ष्यित छ ।
सकल नेपालीको उज्यालो भाग्य लेख्ने संविधानसभाको थपिएको म्याद पनि फस्फुस्सै तुरियो । शान्ति र संविधानको बाटोमा यिनले केही त गरे भन्न मिल्ने गतिलो कुरो केही पनि भएन । र फेरि संविधानसभालाई बचाउने कि मार्ने भन्ने उग्र बहसको धूवाँ छुट्यो । यो पक्कै मारिन्छ- संविधानसभाका वैरीहरू ढुक्क थिए । राप्रपा-कमलगण सडकमा कुर्लियो- मार, मार, संविधानसभालाई मार ! पर्दा पछाडिको कथा भन्छ- यसलाई मार्न एमालेका ओली र काङ्ग्रेसका सिटौला पनि कटि कसेर लागिपरेका थिए । अर्धवस्त्रधारी ओली सानो स्वरमा बोल्दै थिए, नग्न सिटौला भष्मासुर मुद्रामा भयङ्कर स्वरमा कुर्लिँदै थिए । मानौँ मति मिलेका यी सहयात्रीद्वय कतैका कसैको मर्जी पूरा गरिदिन सभक्ति कटिबद्ध थिए । सुनिजानेको कुरा हो, उनै कतैका कसैको सदिच्छाबमोजिम मधेसी मोर्चा पनि ज्यान छाडेरै लागेको थियो । लैनचौरका महामहिम भाइसराय शाम, दाम, दण्ड, भेद चारै अस्त्र प्रयोग गर्दै मैदानमा फुक्काफाल डटेका थिए । तिनलाई रातोदिन भ्याई-नभ्याई थियो । संविधानसभा अवश्यै मर्छ- आफ्नो सिंहासन आफैँ खरानी बनाउने पूर्वराजा ज्ञानेन्द्र ढुक्क थिए । तिनका खल्तीमा संविधानसभाको मृत्युको खुसियालीमा जारी गरिने वक्तव्य ट्याक्क तयार थियो । महामहिम राष्ट्रपति यादव संविधानसभाको मृत्युपछि राजसी भूमिका निर्वाह गर्न आफ्नो क्षेत्राधिकार बाहिर निस्केर अशोभनीय चुरिफुरी गर्दै थिए । सके तिनका खल्तीमा पश्चगामी विकल्पका सेटहरू तम्तयार थिए । सके ती पूर्व तानाशाह ज्ञानेन्द्रले झैँ कुलिन-कुलाक महलका 'स्वच्छ छवि'हरूको चयन गर्दै हुँदाहुन् । उन्मादी उत्तेजनामा आनन्दको अनुभूति गर्नेहरू कतै विधायकहरूको श्राद्ध गर्दै थिए, कतै तिनका पुत्ला जलाउँदै थिए, कतै तिनलाई घाँस खुवाउँदै थिए । तैपनि संविधानसभालाई मार्न मरिहत्ते गर्नेहरू हारे । यसलाई बचाउन जमर्को गर्नेहरूले जिते ।
र गजप भयो ! हिजोसम्म राजनीति, दल र नेताहरूलाई अहोरात्र सराप्नेहरूका मुख हठात् बन्द थिए । फगत अखबारका शीर्षकहरू हेरेर दिनभरि प्रगतिशील परिवर्तनविरुद्ध विष वमन गर्ने ज्ञानीहरू ओइलाए । राप्रपा- कमलगण सुटुक्क भूमिगत भयो । ज्ञानेन्द्रले शून्य आकाश हेर्दै व्यथित सुस्केरा हाले । राष्ट्रपति यादवको झल्झलाकार अनुहारको कान्ति धुमिल भयो । बरा ओली-सिटौला निहुरमुन्टी न भए । र यी सबको निर्मम सिकार हुनबाट तीन कमसेकम महिनालाई संंविधानसभा बच्यो ।
तर एकदिन बित्नु के थियो, पाँचबुँदे स्रेस्ताको व्याख्यामा अन्योलकारी उत्तरआधुनिताको ताण्डव नृत्य सुरु भइहाल्यो । नृत्यका थालनीकर्ता हुनगए प्रधानमन्त्री श्री झलनाथ खनाल । खनालका मुखबाट हिजोका कामचलाउ प्रधानमन्त्री माधवकुमार नेपालको छाया प्वाक्क बोल्यो । ओठ चाट्दै र चोरऔँलो उठाउँदै तिनले भने- राष्ट्रिय सहमतिको खाका आओस्, मेरो राजिनामा झरिहाल्छ । यसको अर्थ के हो भने म राजीनामा दिन्न । हिजो एमालेका नेपाललाई काङ्ग्रेसले बुइँ चढाएको थियो, आज उही एमालेका खनाललाई विकल्पविहीन र विवश माओवादीले बुइँ चढाएको छ । जो बोकिएर केही बन्छ, ऊ बुइँबाट सजिलै तल र्झन मान्दैन । तल झरे म फेरि कहिल्यै माथि उक्लिन सक्दिन भन्ने उसलाई थाहा हुन्छ । हो, खनाललाई थाहा छ । गद्दी आरोहण गर्नुअघि सहमतिको तोत्र यी खनाललाई औधी प्यारो थियो । जब गद्दीको स्वाद चाख्न थाले, सहमतिको भावना यिनले चटक्कै बिर्से । ताजा पाँचबुँदे स्रेस्तामा यिनले पनि सहीछाप धस्काएका छन् । र यिनले भनेका छन्- राष्ट्रिय सहमतिको सरकारको बाटो खोल्न म राजिनामा दिन्छु । यसको अर्थ हो- म असहमतिको कारक र सहमतिको बाधक हुँ, म अब पन्छिन्छु । तर अहिले उनी जिद्दी गर्दैछन्- जति दिन हुन्छ, लुव्ध किर्नोझैँ म कुर्सीमा टाँस्सिइरहन्छु । र विचलित राजनीतिको धराप बाटो म छेकिराख्छु ।
यसरी हिजोको आजै पाँचबुँदे सहमति रहस्यको उच्चाटलाग्दो पहेली बनेको छ । राजनीतिका उत्तरआधुनिक पण्डितहरू यसको आफूखुसी व्याख्या गर्नथालेका छन् । यस्तोमा संविधानसभाको जीवनरक्षा भएकोमा हौसिएका न्याय र शान्तिप्रेमी नरनारीहरू अन्याय र अशान्तिको डरले फेरि उदास र दिक्क त हुने नै भए । अहो ! काइते सहमतिको शृङ्खलामा फेरि उही कुत्तु कथा सुरु भयो ! जनताका थाप्लामा फेरि उही बासी राजनीतिक घात-प्रतिघातको कठोर आघात बजि्रन थाल्यो ।
र संविधानसभाको मलामी जान खुट्टा उचाल्नेहरूले फेरि हौसिने मौका पाए । 
यता समय छ, जम्मा तीन महिना । उता गर्नुपर्ने कामहरूको रिङ्गटालाग्दो चाङ छ । जबसम्म सहमतिको सरकार बन्दैन, शान्ति र संविधानको कामका नाउँमा ओरको सिन्को पर सर्ने छैन । तर तुच्छ कलह फेरि पनि सरकारको लगामधारी नायक को हुने भन्नेमा छ । र सरकारको सहमतीय खाका नबनेसम्म खनाललाई खुदो त यस्सै पनि हुने नै भयो । यी खनाल फगत निमित्त नायक हुन् । यिनलाई निमित्तको कृपा प्रदान गर्ने अस्सली नायक माओवादी हो । जब माओवादीले कान्छी औँलो हल्लाउँछ, खनालको बेमेलकारी गद्दी घोप्टिन बेरै लाग्दैन । तर माओवादी नेतृत्व स्वयम् उत्तर आधुनिक भाषा बोलिरहेछ । पहिले बनोस् सरकारको खाका अनि लाग्छन्, खनाल पाखा । लोली मिलेको बोलीमा माओवादीको मनसाय यस्तो छ । अचम्म लाग्छ, आखिर सरकारको खाका बनाइदिने कसले हो ? अगोचर, निराकार र अविदित चतुमुर्खी बह्माजीले ?
एक-एक पल त्यसै खेर जानु भनेको तीन महिनामा गर्छु भनेका काम जानी-जानी पूरा नगर्नु हो । यसको अर्थ संविधानसभाको मृत्युको घडी आफैँ निम्त्याउनु हो । यसको अर्थ संविधानमा लेखिन लाम लागेर उभिएका जनजनका सपनाहरूको बध गर्नु हो । र यसको अर्थ यो नकामको मूल अपजसको बोरा माओवादीले बोक्नु हो । त्यसैले सहमतीय राजनीतिका अनन्य पुजारी झलनाथ खनाल तत्काल राजीनामा दिउन् । दिन नमाने माओवादी कणहरू तिनलाई थपक्क बिसाउन् । तब न लाग्नुपर्नेहरूलाई नयाँ सरकार बनाउन तातो लाग्छ । कसैले पनि खालि अत्तो थाप्ने र अर्कालाई दोष दिएर आफू पानीमाथिको ओभानो बन्ने दिन अब गए । गर्धनमाथि झुन्डिएको पश्चगमनको तरवार नदेख्नेहरू तरवारको चोट हानिनमात्र लायक हुन्छन् । 

No comments:

Post a Comment

Blogger Widgets