Blogger Templates

राजधानीमा संसारभरिका टाटु कलाकार र प्रेमीहरु झुम्मिए

प्रकाशित मिति: २०६८ वैशाख १० १२:३२  

काठमाडौं, वैशाख १० - पिठ्यु बाहेक पुरा शरीर भरि ३ सय ५ राष्ट्रको झण्डा, १ सय ८५ मुलुकको नक्शा, २ हजार ९ सय ८५ अक्षर र अमेरिकी राष्ट्रपति बराक ओबामालगायत थुप्रै राष्ट्र प्रमुखको तस्बिर ।

टाटुकै कारणले तीन पटक गिनिज बुक अफ वल्र्ड रेकर्डस उपाधी हात पारिसकेका भारतका ७० वर्षीय 'गिनिज रिशी' अहिले काठमाडौमा आकर्षणका केन्द्र बनेका छन् । उनको शरीरमा दश विभिन्न भाषामा 'आतंकबाद विरुद्ध एक जुट भएर लडौं,'वाक्यहरु लेखिएका छन् ।

उनको वास्तविक नाम हरप्रकाश रिसी हो । गिजिन बुक वल्र्ड रेकर्डसको २२ वटा रेकर्ड तोडेको हुनाले उनको उपनाम गिनिज रिशी भएको हो । राजधानीमा शुक्रबारदेखि सुरु भएको तीन दिने 'नेपाल टाटु सम्मेलन,२०११' मा भाग लिन आएका नयाँदिल्लीका यी वृद्ध अर्को रेकर्ड बनाउने तरखरमा छन् । दक्षिण एशियामा पहिलो पटक भइरहेको यस सम्मेलनमा १२ मुलुकका ५५ टाटु कलाकार र दुई प्रदर्शनकर्ता सहभागी छन् ।

'म यहाँ ३० टाटु कलाकारको सहयोगले दुई घण्टाभित्र खाली रहेको पिठ्युमा सय मुलुकको झण्डा बनाउने रेकर्ड कायम गर्न चाहन्छु,' रिशीले शुक्रबार कान्तिपुरसँग भने,'यो रेकर्ड अहिले अमेरिकाको एक सर्कस कम्पनिको नाउँमा छ ।' सुनामी पीडित जापानलाई एक अरब रुपैयाँ दिने तयार हुने कम्पनि वा व्यक्तिको नाउँको टाटु गालामा बनाएर विज्ञापन गर्न समेत चाहना उनले व्यक्त गरेका छन् ।

अटो पार्टसका व्यवसायी रिसिले पहिलो पटक १५ जुलाई सन २००९ मा टाउकोमा सात टाटु बनाएका थिए । 'शरीर भरी झण्डाको टाटु बनाउने तीन वटै रेकर्ड मेरै नाउँमा छ,'उनले भने,' पहिलो पटक शरीरमा १ सय ५० झण्डा,दोश्रो पटक १ सय ९९ झण्डा र त्यसपछि ३ सय ५ झण्डाको रेकर्ड मैंले बनाएको हो ।'

उनले एक वर्षको अवधिमा यी रेकर्डहरु बनाएका हुन् । उनले अहिलेसम्म बनाएका आफ्ना सम्पूर्ण उपलब्धी 'गिनिजरिशी वल्र्डरेकर्डस डट कम' मा राखेका छन् । 'मरेपछि भुत बनेर विना राहदानी र भिषा संसारको चक्कर लगाउन म शरीरभरी टाटु गराईरहेको छु,'उनले भने,'अहिले भने पुरा संसारको दुई पटक यात्रा गर्ने योजनामा छु ।'

नेपाल टाटु प्राईवेट लिमिटेडले दरबारमार्गमा आयोजना गरेको टाटु सम्मेलनमा पाँच हजार वर्ष पुरानो यो सभ्यतालाई बोकेर संसारभरिका टाटु कलाकार र प्रेमीहरु ओइरिएका छन् । हरेक धर्म संस्कृति र सभ्यतासँग सम्बन्धित देवी,देवता,दैंत्य र विभिन्न दर्शनका अगुवाका टाटु बनाउन जर्मनी, फ्रान्स, गि्रस, इटाली, बेलायत, भारत,स्पेन, स्वीडेन, थाइल्याण्ड र अमेरिकालगायतका मुलुकका टाटु कलाकारहरु रेखाचित्र कोर्दै जीउमा टाटु कुदाउनेकोलागि तयार भएर बसेका छन् ।

बेलायतको वर्थिङ शहरमा 'कालीमा इम्पोरियम'टाटु स्टुडियो चलाएर संसार भरी ख्याती कमाएका टाटु कलाकार क्वेन्टिन पनि सम्मेलनमा स्टलसहित सहभागी छन् । उनी अठारह वर्षदेखि यो पेशामा छन् ।

तेइस वर्षअघि थुप्रै पटक भारत आउँदा नागा बाबा र साधुको संगतले धार्मिक देवीदेउताप्रति आकर्षण बढेको उनले बताए । 'अरुले शरीर भरी सुन्दर टाटुहरु बनाएको देख्दै आएको थिएँ,' उनले भने,' मन र मुटुबाटै आफसे आप टाटु प्रति मोह जाग्यौं ।' दुई वटै हत्केलामा टाटुले स्वस्तिक चिन्ह कोरेका क्वेन्टिनले सुईको सहयोगले शरीरका मांसपेशीलाई विभिन्न जीवको आकार प्रकारमा समेत बदल्न खप्पिस छन् ।

टाटुप्रति अरुको पनि मोह जगाउन उनी र उनको शिष्य कर्मा वेभले शरीर भरी टाटु कोरेर आदिवासी झैं रुपमा सम्मेलनमा प्रस्तुत भइरहेका छन् । 'मलाई शरीरभरी यी चित्रहरु बनाउन अठारह वर्ष लाग्यो,'वेभ भन्छन्,' आदिवासी संस्कृतिप्रतिको आकर्षण र रुचीले यो सब भयो ।' उनलाई हेर्ने र अनुशरण गर्नेको भिड लागेको छ ।

समाजमा फरक व्यक्तित्व प्रदर्शन गर्न तिखो सुई घोच्दा घण्टौसम्म हुने पीडाको परवाह नगरी टाटु कोराउनेको सम्मेलनमा कमी छैन । टाटु प्रेमीहरुले शरीरको कुनै अंग बाँकि राखेका छैनन् । असनका गि्रस श्रेष्ठले २१ हजार रुपैयाँ तिरेर इटालीका टाटु विशेषज्ञ आफर्नी एण्ड्रियाबाट छातीमा ओशाको छवि कुदाइरहेका देखिए ।

'ओसोले मेरो जीवनमा सकारात्मक प्रभाव पारेको छ,'उनले भने । गि्रसको मुहारमा सुई घोचिंदाको पीडा झल्किन्थ्यो । टाटु संसारमा 'वास्तविकताको खोजकर्ता' को नामले मुहार चित्र बनाउनमा ख्याती कमाएका इटाली नोभाराका आण्ड्रियाले यस्तो एउटा टाटु कोर्न चार/पाँच घण्टा लाग्ने बताए । उनले शरीरभरी टाटु बनाउन वर्षौ लाग्ने बताए ।

'अहिले चिकित्सा विज्ञानले समेत प्रमाणित गरिसकेका अत्याधुनिक रंग र संयन्त्रको प्रयोग हुन थालेकोले साईड इफेक्ट हुन्न,'उनले भने । शरीरलाई सुन्दर बनाउने चाहना भएपछि पीडाको मतलब हुँदो रहेन छ ।

फ्रान्स मोन्टपेलिएर शहरकी अनार्ड नदेजले कलाकार श्रीमानकै हातबाट कम्मर मुनिको भागमा आनन्दले एक नेपाली घरको टाटु बनाउन लागेको देखिइन् । 'मैंले पेट,खुट्टा,पैताला र थाइमा थुप्रै चित्र बनाइसकेकी छु,'उनले देखाउँदै भनिन्,'यो चौथो पटक हो, एक नेपाली कलाकारले बनाएको घरलाई तिघ्रामा उतार्न लगाएकी छु ।'

सम्मेलनमा जस्तो सुकै टाटु बनाउन महारतहरु आएका छन् । भारत दिल्लीबाट आएका डेभिल्ज टाटुजका सञ्चालकहरु यस्तैमा पर्छन् । 'हामी राक्षस र देवीको मुहार चित्र बनाउँछौं,' भारतीय टाटु कलाकार अभिषेक माधुरले भने,'हुन त कलालाई देशको आधारमा विभाजन गर्नुहन्न, तर, हाम्रो कलामा धार्मिक प्रभाव बढी छ ।'

उनीले आधा घण्टा लाग्ने एक इन्चको टाटु १ हजार ५ सय रुपैयाँमा र चार घण्टा लाग्ने कालीमाताको मुहार १५ हजार रुपैयाँ बनाइरहेको बताए । थाइल्याण्डका फुकेट इन्क टाटु स्टुडियोका सञ्चालक जीप जान्कोले संसारभरि टाटु परम्परामा खासै फरक नरहेको बताए । 'अरु झैं हामी पनि परम्परागत,धार्मिक र थोर बहुत आधुनिक,' चौध वर्षदेखि टाटु कोर्दै आएका उनले भने ।

सम्मेलनमा विदेशीहरुको मात्र नभएर नेपाली टाटु कलाकारहरुको उल्लेखीय सहभागिता छ । राजधानीको बसन्तपुरमा टिके झया टाटुज सेन्टर चलाएर बसेका प्रल्हाद श्रेष्ठ र सबिता महर्जन तीमध्ये एक हुन् । उनीहरुले ४५ मिनेटदेखि दुई घण्टा समय लगाएर न्यून्तम १ हजारदेखि २५ हजार रुपैयाँसम्मको नेपाल कला झल्किने टाटु बनाइरहेको बताए

'विदेशका प्रतिष्ठित टाटु स्कुल र कलेजबाट सिकेर आएकाको बीच कला पस्किंदा गर्व लागेको छ,'उनीहरुले भने,'सानैदेखि घरमा चित्र कोरेर अभ्यास गर्दा सिकेर यति गर्न पाउँदा खुशी नै लागेको छ ।' नेपालमा महिला टाटु कलाकार विरलै देखिने हुनाले केटी साथी सवितालाई यो कला सिकाएको प्रल्हादले बताए । पाँच वर्षदेखि यो पेशामा लागेका उनीहरुले सम्पूर्ण खर्च कटाएर मासिक २५ देखि ३० हजार रुपैयाँ बचत गर्ने गरेको बताए । टाटुको विभिन्न प्रतिस्पर्धा र सांस्कृतिक कार्यक्रमले सम्मेलनमा थप उत्साह र ऊर्जा थपेको छ ।

No comments:

Post a Comment

Blogger Widgets