Blogger Templates

माओवादीको प्रश्न, राष्ट्रपतिलाई श्रीपेच चाहिएको हो ?

काठमाडौ, चैत्र २४ - माओवादीले राष्ट्रपति रामवरण यादवका पछिल्ला अभिव्यक्ति र क्रियाकलापप्रति आपत्ति जनाएको छ । राष्ट्रपतिको पछिल्लो अभिब्यक्ति र नेताहरुसंगको बाक्लो भेटवार्ताप्रति माओवादीले संसदमा रोक्ष प्रकट गरेका हुन् ।
‘केही दिनअघि राष्ट्रपतिले संविधानसभाको दुई तिहाइ आधारमा संविधान जारी गर्न नमिल्ने अभिव्यक्ति दिनुभएको थियो भने विभिन्न दलका नेतासँग भेटघाट तीव्र पार्नुभएको थियो,’ सदनमा बुधबार विशेष समय लिएर बोल्दै माओवादी पोलिटब्युरो सदस्य लोकेन्द्र विष्टले भने, ‘के उहाँलाई श्रीपेच चाहिएको हो ?’
संविधानले आलंकारिक राष्ट्रपतिको व्यवस्था गरेको तर यादवबाट कार्यकारी राष्ट्रपतिको जस्तो व्यवहार भइरहेको उनको आरोप थियो । ‘राष्ट्रपतिलाई मनपरी बोल्दै हिड्ने अधिकार संविधानले कहाँ दिएको छ ?’ उनले भने, ‘उहाँ निश्चित क्षेत्र र जातिको नेता हुने गरी बोल्दै हिँड्नुभएको छ ।’ उनले राष्ट्रपतिका क्रियाकलाप र अभिव्यक्ति असंवैधानिक भएको आरोपसमेत लगाए । ‘उहाँका गतिविधि संविधानका मूल्य–मान्यता विपरीत छन्,’ उनले भने, ‘यो संविधान मिचाइ हो ।’
यादवको सक्रियतालाई माओवादीले राष्ट्रपति शासनको पूर्वअभ्यास हुनसक्ने आशंका गर्दै आएको छ । ‘यहाँ अनेक हल्ला गरिएको छ,’ विष्टले भने, ‘हल्ला चलाएर चिलले कुखुराको चल्ला लान खोजेका हुन् भने जनताले तिनको दाह्रा–नङ्ग्रा भाँचिदिनेछन् ।’
राजदूत सूदप्रति रोष
माओवादी नेता विष्टले भारतीय राजदूत राकेश सूदका अभिव्यक्ति र गतिविधिप्रति पनि तीव्र आक्रोश व्यक्त गरे । ‘कूटनीतिक व्यक्ति पार्टीको नेताजस्तै संगठन गर्दै हिँडेका छन्,’ उनले भने, ‘सहयोग रोकिदिने धम्की दिँदै, जिस्क्याउँदै हिड्ने ?’ सहयोग रोक्ने सूदको चेतावनीप्रति उनी निकै आक्रोशित देखिन्थे । ‘उनले सहयोग नदिए हामी भोकै मरौंला त ?’ उनले भने, ‘उनीमात्रै छन् दाता ?’ मुलुक संक्रमणकालमा रहेका बेला छिमेकबाट हुने हस्तक्षेप गम्भीर भएको उल्लेख गर्दै उनले राष्ट्रिय स्वाधीनताका लागि एकजुट हुने बेला आएको बताए ।

No comments:

Post a Comment

Blogger Widgets