Blogger Templates

बाबुराम सरकार कमजोर / अबिश्वासको प्रस्ताब आउन सक्ने


काठमाडौं, पुस २५ - कांग्रेस केन्द्रीय सदस्य रामशरण महतले प्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने बताएका छन । प्रधानमन्त्रीले पदमा बस्ने नैतिक हैसियत गुमाइसकेको दाबी गर्दै उनले बहुमत जुट्ने वित्तिकै अविश्वासको प्रस्ताव ल्याउने खुलासा गरे । अविश्वासको प्रस्ताव ल्याउनेबारे दलहरुवीच छलफल भइरहेको भन्दै बताउँदै सोमबार रिपोर्टर्स क्लवको साक्षात्कारमा महतले अहिलेकै अवस्था जारी रहे अविश्वास प्रस्ताव ल्याउनुको विकल्प नरहेको धारणा राखे ।
 
महतले सात बुँदे सहमतिमा सेना समायोजन सम्बन्धी सम्पूर्ण कुरा स्पष्ट भएको अवस्थामा माओवादीले अहिले आएर सहमति विपरीत पहिला दर्जा निर्धारण र ६ हजार ५ सय भन्दा बढी समायोजन रोजेका लडाकुहरुलाई के गर्ने लगायतका बखेडा झिकेर शान्ति प्रक्रिया रोकेको आरोप लगाउँदै शान्ति प्रक्रियालाई माओवादीले दुहुनो गाई बनाएको दावी गरे । उनले भने, 'सात बुँदे अनुसार लडाकुले सेनाको ब्यक्तिगत मापदण्ड पुरा गर्छ कि गर्दै न अहिलेनै यो पद र उ पद भन्न मिल्छ ?'उनले सहमति गर्ने र कार्यान्वयन नगर्ने माओवादीको पुरानै चरित्र दोहोरिएको भन्दै फाइदा हुँदा सम्झौता गर्ने र अरुबेला कार्यान्वयन नगर्ने माओवादी चरित्र स्पष्ट भएको दावी गरे । महतले माओवादी लडाकुको हैसियत सेनाको रुपमा नस्विकारिएकोले सेनाको समूगत समायोजन कुनै पनि हालतमा हुन नसक्ने ठोकुवा पनि गरे ।  

माओवादीले गरेको सशस्त्र द्वन्द्व इतिहासकै सबैभन्दा महंगो बनेको दाबी गर्दै महतले २० अर्ब रुपैयाँ खर्च, विकास निर्माणमा अवरोध, लोकतन्त्रमा अवरोध र हजारौको ज्यानको मुल्य चुकाएको आरोप लगाए । उनले भने, 'अहिलेसम्म भएका कुनै पनि शसस्त्र द्वन्द्वमा सहभागीले यत्रो पुरस्कार पाएका थिएनन् ।' महतले युद्ध गरेबापत पैसा माग्नेले देशको लागि, परिवर्तनको लागि युद्ध गरेको नठहर्ने समेत ठोकुवा गरे । उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय पद्धति नभए शान्ति प्रक्रिया अवरुद्ध हुन्छ भन्नु शान्ति प्रक्रियालाई बार्गेनिङ कार्ड, ब्लाकमेलिङको उपकरण र कामधेनु गाई बनाउनु भएको भन्दै त्यो कांग्रेसको लागि स्वीकार्य नभएको स्पष्ट पारे ।
 
डा महतले सहिद गेटबाट त्रिभुवनको सालिक हटाउने निर्णय इतिहासलाई मेट्ने षड्यन्त्र भएको भन्दै ७ सालको आन्दोलनमा त्रिभूवनले साथ लिएकोले काग्रेसले उनलाई सम्मान गर्ने बताए । 'इतिहासलाई इतिहासकै रुपमा हेहिरनु पर्छ । इतिहास मेटन पाइँदैन,' उनले भने, 'नेपालमा राणाशासनको पनि इतिहास छ, त्यसलाई मेट्न पाइँदैन । रुसमा अझै जारका सालिक छन्, चीनमा छन् ।'

No comments:

Post a Comment

Blogger Widgets