काठमाडौ, श्रावण १६ -
प्रधानमन्त्री झलनाथ खनालले साउन २८ गते भित्र शान्ति प्रक्रियमा ठोस प्रगति नभए वर्तमान गठबन्धन सरकारको औचित्य सकिने बताएका छन् । उनले उक्त अवधि भित्र शान्ति प्रक्रियामा प्रगति नभए आफूले राजीनामा दिने संकेत गरेका छन् ।
आफ्नो पार्टी एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसको चर्को बिरोधका वावजुद माओवादीको दवावमा सोमबार मन्त्रिपरिषद् पुनर्गठन गरेपछि त्यस विषयमा स्पष्ट पार्न प्रधानमन्त्री खनालले आफ्नै सरकारी निवासमा सोमबार साँझ पत्रकार सम्मेलनको आयोजना गरेका थिए ।
पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले आफूले केही गर्न खोज्दा पार्टी भित्र र बाहिरबाट आक्रमण भइरहेको बताए । उनले भदौ १४ भित्र माओवादी लडाकुको पुर्नवर्गिकरण गर्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालको भनाई स्वागत योग्य रहेको दोहोर्बयाए । शान्ति प्रक्रियामा प्रगति हुने विश्वासकै कारण मन्त्रिमण्डल पुनर्गठन गरिएको उनको भनाई थियो ।
आफ्नो लिखित भनाईमा उनले पटक-पटक संविधानसभामा ठूला दलका रुपमा रहेका माओवादीलाई जिम्मेवार ढंगले आउन आग्रह गरे । उनले संविधानसभाको म्याद सकिन कम समय रहेको र यस अवधिमा विश्वासको वातवरण बनाएर राष्ट्रिय सहमति कायम गर्न पूर्ण जिम्मेवारीका साथ आउन माओवादीलाई आग्रह गरे ।
उनले पाँच बुँदे सहमतिलाई ठोस कार्यान्वयन गर्न र राजीनामा गर्न आफू तयार रहेको भन्दै राष्ट्रिय सहमतिको निर्माणमा जोड दिए । राष्ट्रिय सहमति निर्माण नभए मुलुक फेरि अन्धकारमा जान्छ उनको कथन थियो । उनले संक्रमणकालमा फेरि गल्ती नदोहोरियोस भनेर सबैदललाई आग्रह गरे ।
उनले पाँच बुँदे सहमति कार्यान्वयन अनुगमनका लागि सभामुखको संयोजकत्वमा संसदीय समिति बनेकाले कांग्रेसले सदन अवरुद्ध गरिरहनुको औचित्य नरहेको बताए ।
सपथ रोक्न निर्णय भएको छैन
माओवादीले सिफारिस गरेको मन्त्रीहरुलाई सपथ नगराउन पार्टी स्थायी समितिले गरेको निर्णय विपरीत सपथ गराएका प्रधानमन्त्री झलनाथ खनालले स्थायी समितिमा त्यस्तो निर्णय नभएको दावी गरेका छन् ।
सोमबार आकस्मिक रुपमा बोलाइएको स्थायी समितिले आजको सपथ ग्रहण रोक्ने र साउन २१ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको बैठकपछि सचिव शंकर पोखरेलले बताएका थिए ।
पत्रकार सम्मेलनमा खनालले केन्द्रीय समितिको बैठक बोलाउने निर्णय बाहेक अन्य निर्णय नभएको बताए । उनले भने- 'अरु केही भएको रहेछ भने म बुझ्छु ।' सपथका विषयमा स्थायी समितिमा चर्को विवाद चलिरहेको बेला प्रधानमन्त्री खनाल केन्द्रीय समितिलाई फेस गर्छु भन्दै सपथ गराउने अडानमा बैठकबाट बाहिरिएका थिए ।
No comments:
Post a Comment