Blogger Templates

प्रचण्ड ले पार्टी जोगाए/ कृष्ण बहादुर महरा आउट, नारायण काजी ईन

माओवादीभित्रको अन्तर्द्वन्द्व फुट्न फुट्न आँटेको बेलुन जस्तो
गरी चर्किसकेको थियो विगत केही दिनमा। तीनै जना उपाध्यक्ष मोहन वैद्य, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले बेलुन फुक्याफुक्यै थिए। पछाडिबाट महासचिव रामबहादुर थापा लगायतकाले फुक्न उक्साइरहेका थिए। त्यो नाटकको आजदेखि अन्त्य भएको छ। सबले मिलेर दबाब दिएपछि प्रचण्ड गलेका छन् र पार्टी जोगिने गरी कुर्सी बाँडेका छन्। दु्र्भाग्यको कुरो, यो दबाब शान्ति र स‍ंविधानका लागि हैन, कुर्सीका लागि थियो, पदका लागि थियो। बरु प्रचण्ड शान्ति र संविधानको कार्यनीति लिएर अघि बढेका थिए, तर उनलाई बाबुराम भट्टराईले नै साथ दिएनन्। भट्टराई त आफूभन्दा ठीक विपरीत धारका वैद्यसँग पो मिल्न गए। डाक्टर र वैद्य दुवैको औषधीले काम नगरेसि प्रचण्ड अलपत्र परे। तैपनि पार्टी जोगाउने गरी उनले पद बाँडफाँड गरेका छन्। यो सहमति अनुसार फूटबल खेलमा खेल हुँदै गर्दा क्याप्टेन र खेलाडीहरु फेरे जस्तै अब एक महिना मात्र बाँकी संविधान सभाको समयका लागि माओवादीले सरकारमा खेलाडी फेर्ने भएको छ। क्याप्टेन अर्थात् सरकारमा माओवादीको नेतृत्व गरिरहेको कृष्णबहादुर महरालाई निकाली उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री र गृहमन्त्री बनाइनेछ।
नारायणकाजी श्रेष्ठ पहिलेदेखिका माओवादी भने हैनन्। टाउकाको मोल तोकिएर जोखिमपूर्ण जनयुद्ध पनि उनले लडेका हैनन्। अझ उनी त जनयुद्ध गर्ने बेला नै हैन भन्थे। कार्यकताहरु ज्यान हत्केलामा राखेर युद्ध लडिरहेका बेला उनी नेकपा एकता केन्द्र मसालका महासचिव थिए। यो पार्टी माओवादीसँग विलय भएपछि उनी माओवादी बनेका हुन्। प्रचण्डले नै माया गरेर उनलाई पार्टीमा उपाध्यक्ष र स‍ंसदीय दलका उपनेता बनाएका थिए। पछि दुई जना उपाध्यक्षले बनाएको मोर्चामा उनी पनि छुट्टै अस्तित्व देखाउन मिसिएका थिए। अन्ततः उपप्रधानमन्त्री र गृह मन्त्रालय पाउने भाग्यमानी उनी बन्ने भए।
नारायणकाजी अहिले माओवादी थिए। तर सुरुमा उनी कांग्रेस थिए। विसं २०३३ सालमा नेपाली काङ्ग्रेसबाट राजनीतिक जीवनको सुरुवात गरेका थिए उनले। ०३६ सालपछि भने उनी कम्युनिस्ट बने। ०३३ देखि ०४६ सम्मको पञ्चायत विरोधी आन्दोलनमा उनी तीनपटक जेल परे। २०४७ सालको नेकपा चौम नेकपा मसाल र सर्वहारावादी श्रमिक संगठन बीचको एकतापछि उनी दोस्रो वरियताका नेता रहे। जनयुद्ध तयारीको क्रममा पार्टीमा मतभेद र विभाजनपछि उनीँ एकता केन्द्रका महासचिव बनेका थिए।
२०५८ सालमा मसालसँगको एकतापछि उनी मोहन विक्रम सिंहपछिका ठुला नेता थिए। मसाल विभाजन भएसँगै उनी एकता केन्द्रका महासचिव रहँदै आएका थिए। भारतमा भएको १२ बुँदे सहमतिका लागि उनले संयोजकको भूमिका निभाएका थिए।
१८ वर्षसम्म भूमिगत जीवन बिताएका नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयको कार्यभार कसरी सम्हाल्ने हो, त्यो हेर्न बाँकी छ। जेठ १४ मै सकिन लागेको संविधान सभाको म्याद थप्नलाई सरकारले राजीनामा दिनुपर्ने लगायतको शर्तको सहमति गरिसकेको सरकारले त्यो सहमति पालना नगरी मन्त्री हेरफेर गर्न लागेकोमा विपक्षीहरुको आलोचना सुरु मै खप्नुपर्ने निश्चित छ।

No comments:

Post a Comment

Blogger Widgets