Blogger Templates

भदौ पहिलो साता नयाँ संविधानको पहिलो मस्यौदा तयार गर्ने सहमति

काठमाडौ, जेष्ठ २६ - २०६८
प्रमुख दलका नेताहरु भदौको पहिलो साता नयाँ संविधानको पहिलो मस्यौदा तयार गरिसक्ने गरी कार्यतालिका बनाउन सहमत भएका छन् ।
संबैधानिक समिति अन्तर्गतको विवाद समाधान उपसमितिले संविधान निर्माण सम्बन्धि कार्यतालिकामा सहमति जनाएका हुन् । प्रमुख दलका शीर्ष नेताहरु सम्मिलित उपसमितिले पारित गरेको कार्यतालिका संबैधानिक समितिले अनुमोदनको औपचारिकता पुरा गर्न भने बाँकी छ ।
प्रस्तावित कार्यतालिका अनुसार सुरुका पाँच हप्तामा उपसमितिले नयाँ संविधानका विषयवस्तुमा रहेका विवाद समाधानको काम गरिसक्ने छ । ‘प्रस्तावित कार्यतालिका कार्यान्वयनमा नै आइसकेको छ,’ बैठकका सहभागी एक नेताले भने, ‘समितिमा रहेका सबै विवाद उपसमितिमा पठाउने काम बुधबारै पुरा भएको छ । असार मसान्त भित्र ती सबै विवाद माथिको छलफल टुग्याउने छ ।’
शासकीय स्वरुप, निर्वाचन प्रणाली र राज्य पुर्नसंरचनासंग सम्बन्धित महत्वपूर्ण राजनीतिक मुद्दामा सहमति हुँन बाँकी छ । स्रोतका अनुसार यी तीन विषयमा सहमति जुटाउन छुट्टाछुट्टै कार्यदल गठन गरी काम अघि बढाउने निर्णय भएको छ । ‘संभवतः कार्यदल सम्बन्धि निर्णय शुक्रबारै हुनेछ,’ बैठकलाई उदृतगर्दै स्रोतले भन्यो, ‘कार्यदल बनाएर कामलाई गति दिने सैद्धान्तिक निर्णय भएपनि त्यसमा दलका तर्फबाट प्रतिनिधि तोकिन बाँकी  छ ।’ आमन्त्रित सदस्यका रुपमा उपसमितिलाई प्राविधिक सहयोग पुर्याइरहेका दलका मुख्य सचेतक र कानुनी पृष्टभूमिका सभासद्हरु नै कार्यदलमा रहने उनले बताए ।
विवाद समाधानको प्रयास गरिने पाँच हप्ताको समयावधिभित्रै सचिवालयले सहमति भएका विषयमा नयाँ संविधानको पहिलो मस्यौदाको खाका बनाउने काम पनि संगसंगै गर्ने कार्यतालिकामा उल्लेख छ । असार मसान्त भित्र सहमति जुट्न बाँकी रहेका विषयलाई भने साउन १ देखि १५ गते भित्र संविधानसभाको पूर्ण बैठकमा पेस हुनेछ । संविधानसभा नियमावली अनुसार संबैधानिक समितिका सभापतिले पेस गर्ने यस्तो प्रस्तावमा पूर्ण बैठकले छलफल पछि मतदान हुने छ ।
संविधानसभाले मतदानबाट निर्णय गरेका विषय पुनः संबैधानिक समितिमा पुगेपछि उसले संविधान मस्यौदाको काम पुरा गर्नेछ । संविधानसभाले गर्ने त्यस्तो निर्णय अनुसार सचिवालयले तयार गर्ने संविधानको मस्यौदालाई अन्तिमरुप दिने कामका लागि दुई हप्ताको समय छुट्याईको छ । ‘साउन १६ देखि मसान्त सम्ममा संविधानको पहिलो मस्यौदालाई अन्तिरुप दिने काम हुनेछ,’ कार्यतालिका भनिएको छ, ‘भदौ १ गते संबैधानिक समितिमा सभापतिले संविधानसभाको पूर्ण बैठकमा संविधानको मस्यौदा पेस गर्नेछन् ।’ विवाद समाधानका लागि उपसमितिको बैठक दुई दिन अघि देखि नियमित छ ।

No comments:

Post a Comment

Blogger Widgets