Blogger Templates

दोलखा जिल्लाको विशेस प्रख्यात ठाउँ हरुको बारेमा सम्क्षिप्त जानकारी


दोलखा भिमसेन
सदरमुकाम चरिकोटबाट ४ किमी उत्तरपूर्वमा रहेको ऐतिहासिक शहर दोलखामा अवस्थित भीमेश्वर मन्दिर नेपालकै प्रसिद्ध देवस्थल हो । यसको स्थापना किरातकालमा नै भएको अनुमान छ । देशमा संकट आउनुपूर्व भीमेश्वरको मूर्तिमा संकेतको रुपमा पसिना आउने गर्दछ ।
पौराणिक कालमा दोलखा शहरमा पाण्डबहरु गुप्तवास बसेको र सो गुप्तावास बस्दाको समयमा प्रयोग गरिएको सांकेतिक भाषा नै हाल दोलखाली नेवारहरुले बोल्ने नेवार भाषा हो भन्ने किम्बदन्ती रहेको छ । सो मन्दिरमा नित्य पूजा बाहेक भिम एकादशी, वालाचर्तुदशी, चैतेदशै, बडादशै इत्यादिमा मेला लाग्ने गर्दछ ।
कालिन्चोक भगवती
सदरमुकाम चरिकोटबाट करिव १५ कि.मी. उत्तरमा पदयात्राको दृष्टिकोणले रमणीय स्थल कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर ३८४२ मी. को उचाईमा छ । कालिन्चोक भगवती काभ्रेको पलान्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ । कालिन्चोक डांडाबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यहरुको अवलोकन गर्न सकिन्छ ।
शैलुङ्गेश्वर महादेव
सदरमुकाम चरिकोटबाट करिव २० कि.मी. दक्षिणमा शैलुङ्गेश्वर डांडामा अवस्थित यो स्थान ३५०० मी.को उचाईमा रहेको छ । साना ठूला गरेर १०० वटा थुम्काहरु रहेकोले शैलुङ्ग भनिएको यस स्थानबाट प्राकृतिक दृष्यावलोकन गर्न सकिन्छ ।
टसी गुम्बा
जिल्ला सदरमुकाम चरिकोटबाट १३ कोष उत्तरमा रहेको विगु गाविस वडा नं. ८ मा अवस्थित विगु गुम्बा वास्तवमा दोलखा जिल्लाकै एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल मान्न सकिन्छ । विगु गुम्बाको स्थापना विक्रम संम्बत १९९० तिर डुम्पा रिम्पोछे (स्योराव दोर्जे) ले गर्नु भएको विश्वास गरिन्छ । समथर स्थानमा रहेको उक्त गुम्बामा हाल करिव ६० जना आनी (महिला भिक्षुणी) हरु रहेका छन् । जसले गुम्बामा नियमित रुपमा पाठपुजा गर्ने, पढ्ने र नयाँ भिक्षुहरुलाई पढाउने कार्य गर्दछन् । गुम्बामा कहिल्यै ननिभ्ने एक निमबत्ती नियमित रुपमा बल्दछ । उक्त गुम्बामा दशैको सप्तमीदेखि एकादशीसम्म बत्ती बाल्ने परम्परा छ । हिन्दु धर्मावलम्बीहरुले दशै काटमार गरी बली चढाउने परम्परा भएको र सो परम्पराबाट काट मारमा परी मर्ने हाँस, कुखुरा, बोका, राँगा आदिको नाममा बत्ती बालिएको हो भन्ने किम्बदन्ती छ ।
देउलाङ्गेश्वर महादेव
ओराङ र लामावगर गाविसको सीमानामा रहेको देउलाङ्गेश्वर महादेवको मन्दिर उत्तरी क्षेत्रको प्रसिद्ध तिर्थ स्थल हो । स्वस्थानी पूर्णिमाको दिन ठूलो मेला लाग्ने यस मन्दिरमा सत्य यूगमा महादेवले सत्यदेवीलाई जोगीको भेषमा विवाह गरी ल्याउँदा यहि मन्दिरसंगै रहेको कुटीमा राखेको र सत्यदेवीले विलौना गर्दा खरले छापेको सो कुटीको भित्तो च्याती हिमालय पर्वतको दर्शन गराएको किम्बदन्ती रहेको छ । उक्त कुटी मन्दिरसंगै अझै पिन देख्न सकिन्छ ।
रोलवालिङ्ग उपत्यका
पदयात्राका लागि अति नै रमणीय एवं रोमाञ्चकारी स्थलको रुपमा रहेको यस उपत्यकामा साहसिक पैदल यात्राका लागि विदेशी पर्यटकहरु आकर्षित हुने गर्दछन् ।
च्छोरोल्पा हिमताल
गौरीशंकर गाविस वडा नं. १ रोलवालिङ्ग उपत्यकामा रहेको च्छोरोल्पा हिमताल नेपालकै सवभन्दा ठूलो हिमताल हो । समुद्र सतहबाट ४५८० मीटरको उचाईमा रहेको यस तालको उत्पति ५० वर्षअघि मात्र भएको अनुमान गरिएको छ । सन् १९६३ मा यो हिमताल ०.२३ वर्ग कि.मी. क्षेत्रफलमा रहेकोमा सन् १९९७ मा लिएको भू-उपग्रहीय नक्सा अनुसार १.६५ वर्ग कि.मी. सम्म फैलिएको छ । १३५ मी. गहिरो उक्त हिमतालमा १० करोड घ.मी. पानी रहेको अनुमान छ ।
गौरीशंकर हिमाल
७१३४ कि.मी अग्लो यो हिमालबाट नेपालको प्रामाणिक समय निर्धारण गरिएको छ । हिन्दु धर्मावलम्बीहरुको अराध्यादेव शिव र पार्वतीको प्रतिक मानिने गौरीशंकर हिमाल धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिवन्ध छ ।
वेदिङ्ग गाउँ
गौरीशंकर गाविसको वडा नं. १ मा पर्ने वेदिङ्ग गाउँलाई हिम मजदुरको गाउँ भन्ने गरिन्छ । यस गाउँका २९ जना भन्दा बढी व्यक्तिले सगरमाथाको आरोहण गरी सकेका छन । हालसम्म १८० सगरमाथा आरोहण गर्ने सफल नेपाली मध्ये वेदिङ्ग वासीले मात्र ७० पटक भन्दा बढी सगरमाथा आरोहण गरी सकेका छन् ।
वि.सं. २०४२ साल वैशाख २४ गते गौरीशंकर गाविसको टसीनामामा जम्मिएका तेम्बाछिरी शेर्पा सवैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो व्यक्ति हुन । उनले गत २०५८ जेष्ठ ११ गते उक्त विश्व किर्तिमान कायम गरेका हुन् ।
जिरी उपत्यका
सदरमुकाम चरिकोटबाट ५६ कि.मी पूर्वमा रहेको जिरी बजार (उपत्यका) सगरमाथा प्रवेशद्वार हो । समुद्र सतहबाट १९५१ मी.को उचाईमा रहेको जिरी मनोरम प्राकृतिक सौन्दर्यले भरिएको छ । यसलाई नेपालको स्वीटजरल्याण्ड पनि भन्ने गरिन्छ ।
जटापोखरी
जिल्लाको श्यामा गाविस वडा नं. १ मा पर्ने जटापोखरी सदरमुकाम चरिकोटबाट १६ कोष उत्तरपूर्वमा पर्दछ । धार्मिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिने उक्त पोखरीमा जनै पूर्णिमाको दिन ठूलो मेला लाग्दछ । यो पोखरी करीव ४५०० मीटरको उचाइमा रहेको छ 
बहुला पोखरी
आलम्पु गाविस वडा नं ९ मा रहेको आमा बाभारे पर्वतको थोरै तलतिर वरिपरि कडा चट्टानको आडमा फैलिएको बहुला पोखरीको लम्बाई ३०० मीटर र चौडाइ २०० मीटर रहेको छ भने गहिराइ एकीन हुन सकेको छैन । नेपाल अधिराज्यकै सबैभन्दा गुणस्तरयुक्त स्लेट खानीले मात्र प्रसिद्ध आलम्पु गाविस यस पोखरीको माध्ययमले पनि चिनिन थालेको छ । मनकामना माइले इच्छाएको कुरा पुरा गर्ने किम्बदन्ती जस्तै यस पोखरीले पनि इच्छाएको कुरा पुरा गर्न सक्ने विश्वास गरिन्छ । ऋषि तर्पणी पूर्णिमाको अघिल्लो राति ठूलो मेला लाग्ने उक्त पोखरीको व्यापक प्रचार प्रसार हुन सकेको खण्डमा पर्यटकीय आकर्षण बढ्न सक्ने कुरा निर्विवाद छ ।

No comments:

Post a Comment

Blogger Widgets