Blogger Templates

दोलखा सिगटी सेरोफेरो

दोलखा सन्देश ,
दोलखाको उत्तरपूर्वी क्षेत्रमा रहेको सिंगटी बजार दोलखाबाट करीब ३५ किलोमिटर कच्ची बाटोबाट बसको यात्रा गरेर करिब ५ घन्टामा पुग्न सकिन्छ । केहिबर्ष अगाडिसम्म यहाँ जानको लागि ८ घण्टा पैदल यात्रा गर्नु पर्ने थियो तर माथिल्लो तामाकोसी जलबिद्धुत आयोजनाको लागि यहाको सडक विस्तार गरिएको हुनाले यहाँ पुग्नको लागि घन्टौ हिड्नु पर्ने कठिनता हटेको छ ।

सिंगटी, दोलखा जिल्लाका उत्तर पूर्वी क्षेत्रमा रहेका १९ गाविसहरुको ब्यापारिक केन्द्रको रुपमा पनि परिचित छ । जहाँ महिनामा २ चोटी ठुलो हाटबजार लाग्ने गर्छ । हाट बजारमा बिभिन्न ठाउंका ब्यापारीहरुले ठुलो मात्रामा बिक्रिका समानहरु ल्याउने गर्दछन । यस बेला ठुलो जनमानसको भिड लाग्ने गर्दछ । जुन बेला मालसमानहरु सस्तो हुने भएको हुनाले टाढा टाढा जस्तो ओराङ, बुलुङ, सुरी, खारे, दोलखा चरिकोट लगायतका ठाउँबाट आउने ग्राहकहरुको संख्या धेरै हुन्छन । ब्यापारीहरु यहाँबाट समान खरिद गरि आफ्नो गाउँ अनि सदरमुकाममा पुन बिक्रि गर्ने गर्दछन । सिजन अनुसारको फलफुल र तरकारीहरु जस्तै :आँप , केरा , नासपाती , आरु , आरुबखडा , सुन्तला , बनतरुल , घर तरुल , खुर्सानी , अदुवा, लसुन, गोल्भेडा, सागसब्जीहरु, छुर्पी , दुर्खा, अनी घरेलु मदिरा, चुयाको डोको, नाङ्लो, डालो, थुन्छे भकारी र स्थनीय खोलामा मारेको ताजा माछा आदी यहाँको बजारको मुख्य बिशेषता हुन ।

यो क्षत्रमा तमाङ जातिको बाहुल्यता भएको कारण हाटबजारको दिन र अन्य दिन समेत प्रसस्त मात्रामा मदिराको बिक्री हुन्छ । तमाङ्नी दिदिबहिनीहरु बजारको दिन घरमा मदिरा उत्पादन गरेर बजारसम्म लगेर बिक्री गरि आर्जन गरेको पैसाले घराएसी समानहरु किनेर सिंगटीको उकालो चड्ने गर्छन् । अनि उकालो काट्दा जुहारी खेल्दै तरुना तन्नेरीहरु रमाइलो समेत गर्न चुक्दैनन । सिंगटीमा मोटर पुग्नु अघि पिखुतीमा बजार लाग्ने गर्थ्यो तर आजभोलि पिखुतीको ब्यापारीहरु सिंगटीमा प्रबेस गरेका छन् । पिखुतीलाई गुमुखोला भन्ने ब्यपारिक केन्द्रको नामले परापुर्वकाल देखि चिनिन्थ्यो जसरी आज सिंगटी प्रख्यात छ । त्यसरिनै केहिबर्ष अघिसम्म गुमुखोला बजार पनि प्रख्यात थियो ।

यात्राका क्रममा पूर्वमा गौरीशंकर हिमाल अनि दक्षिणमा तामाकोसी अनि उत्तरमा बिगु गुम्बा पश्चिममा कलिन्चोकको थुम्को लगायत प्रकृतिका मनोरम दृश्यको आनन्द लिन सकिन्छ । साथै दोलखामा रहेको प्रख्यात भिमेश्वोर मन्दिर पनि पर्यटकहरुको लागि महत्वपूर्ण स्थलको रुपमा परिचित छ । त्यसैले यो ठाउं पर्यटकहरुको लागि रमणीय स्थलको रुपमा परिचित रहिआएको छ । सिंगटीबाट दोलखाको रोल्वालिङ , छ्योरोल्पा हिमताल , गौरीशंकर हिमाल, गोगर, जगत लामाबगर हुँदै तिब्बतको नाका सम्म पुग्न सकिन्छ । यदि तिब्बतीय पर्यटकको आगमनलाई सरकारले व्यवस्थित गर्ने हो भने यो क्षेत्र अझ प्रख्यात र ब्यापारिक क्षत्रको रुपमा आगाडी बढ्न सक्ने कुरा सिंगटीवासिहरु बताउंछन ।

साथै गोगरमा तामा खानी पनि हुन सक्ने कुरा भूगोलबिधहरू बताउछन । बहुचर्चित माथिल्लो तामाकोसि लगायत यहाँका अरु बिभिन्न ठाडो खोलाबाट बिजुली निकाल्ने योजनामा केही लगानीकर्ता राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरबाट प्रोत्साहित छन् ।

यहाँ बसोबास गर्नेहरुमा सबैभन्दा बढी तमाङ, त्यसपछि छेत्री अनि केहि शेर्पा , नेवार्, कामी ,दमाइ , बाहुन , ठकुरी, थामी, सार्की, घर्ती, मगर र जिरेलहरु पर्दछन । स्मरण रहोस, जिरेल र थामी जाति दोलखा बाहेक अन्य जिल्लामा छैनन् । त्यसैले यी २ जातिलाई जिल्लाको विशेषता समेत मानिने गरिन्छ ।

तर, दु:खको कुरा हालसम्म पनि यहाँ सम्म पुग्ने सडकमा कालोपत्र नगरिएकोले बर्षातको समयमा पहिरो जाने भएकोले सदरमुकाम र राजधानी आवतजावात गर्न यहाका जनमानसलाई र आन्तरिक, वाह्य पर्यटकहरुलाई प्रत्यक्ष असर पुर्याई रहन्छ । आशा गरौ, माथिल्लो तामाकोसिको विकाससंगै दोलखा-सिंगटी सडकको पनि विकास अनि विस्तार होस, अनि हामी सबै बिना डरको यात्रागर्न पाउनेछौ । यसमा सम्बन्धित व्यक्तिहरुको आँखा पुगोस ।

No comments:

Post a Comment

Blogger Widgets