Blogger Templates

कुरा काट्ने हरुले काटिरहे/ आखिर प्रचण्ड मलेशिया र सिंगापुर किन गएका रहेछन ?

काठमाडौं, ५ असार
माओवादी अध्यक्ष प्रचण्ड उपाध्यक्ष रहेको एसियन प्यासिफिक एन्ड एक्सचेन्ज को-अपरेसन फाउन्डेसनले गौतम बुद्धको जन्मस्थलको विकासमा दुई खर्ब २५ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । फाउन्डेसनले लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरको बुद्ध केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ । 
फाउन्डेसनले नेपाल सरकारसँग मिलेर लुम्बिनीलाई अन्तर्राष्ट्रियस्तरको बुद्ध केन्द्र बनाउन लागेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ । फाउन्डेसनले सहायता उपलब्ध गराउन नेपाल सरकारसँग सम्झौतासमेत गरिसकेको एजेन्सीले जनाएको छ । विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीको विकासमा जापान, चीन, कोरिया र श्रीलंकालगायत मुलुकले समेत सहयोग गर्दै आएका छन् । 
चिनियाँ सरकारले तयार पारेको लुम्बिनी नगर विकास परियोजनाअनुसार विमानस्थल, सडक, होटल र सम्मेलन केन्द्र निर्माण गरिनेछ । फाउन्डेसनले लुम्बिनीमा सञ्चार, पानी र विद्युत् आपूर्तिमा समेत लगानी गर्ने जनाइएको छ । 
लुम्बिनीको विकासले नेपालमा पर्यटन वृद्धि गरी राजस्व बढाउने, रोजगारी सिर्जना गर्ने र पूर्वाधारको समेत विकास हुुने सम्झौतामा रहेको उल्लेख गरिएको समाचारमा जनाइएको छ । फाउन्डेसनले लुम्बिनी विकासका लागि चीन र अन्य देशबाट रकम जुटाउने अभियानसमेत सुरु गरिसकेको जनाइएको छ । 
फाउन्डेसनको मुख्यालय बेइजिङमा छ भने ग्वान्जाओ, हङकङमा शाखा कार्यालय छ । फाउन्डेसनले एसिया प्यासिफिक क्षेत्रमा राजनीतिज्ञ, कूटनीतिज्ञ अर्थराजनीतिलगयातका विषयमा छलफल गर्दै आएको छ । 
पछिल्लोपटक फाउन्डेसनको बैठकमा भाग लिन प्रचण्ड २ चैतमा सिंगापुर गई ४ चैत फर्केका थिए । उनी र्फकंदा बैठकमा क्षेत्रीय विकासका विषयमा समेत कुराकानी भएको बताएका थिए । स्थायी समिति बैठकसमेत एक साताका लागि स्थागित गरेर त्यसवेला प्रचण्ड सिंगापुर भ्रमणमा निस्केका थिए । 
त्यसअघि ०६७ असोजमा मलेसियाको क्वालालम्पुरमा भएको फाउन्डेसनको सम्मेलनमा प्रचण्ड गएका थिए । त्यसै सम्मेलनबाट प्रचण्ड फाउन्डेसनको उपाध्यक्ष बनेका थिए । सम्मेलनमा एसिया प्यासिफिक क्षेत्रमा रहेका राष्ट्रहरूलाई आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नका लागि आग्रह गरिएको र्फकने क्रममा प्रचण्डले बताएका थिए । 
सम्मेलनमा सहभागी हुन प्रचण्डसँगै माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महरा पनि गएका थिए । प्रचण्ड १५ अजोज ०६७ मा मलेसिया गई १९ अजोजमा फर्केका थिए । प्रचण्ड आफू प्रधानमन्त्री हुँदा गरेको चीन भ्रमणमा समेत लुम्बिनीको विकासका लागि सहयोग गर्न आग्रह गरेका थिए । 

नेपाललाई बुद्धभूमि बनाउन सघाउने चिनियाँ योजना
चिनियाँ संस्था एसिया प्यासिफिक एन्ड को-अपरेसन फाउन्डेसनको आर्थिक सहयोग र नेपाल सरकारको योजनामा बुद्ध धर्मावलम्बीहरूको आकर्षणका रूपमा गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विकास गर्ने योजना अघि बढाइएको छ । मुस्लिमहरूको पवित्र तीर्थस्थल मक्का र क्याथोलिकहरूको तीर्थस्थल भ्याटिकन जस्तै गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विकास गर्ने योजनाअनुसार यो कार्यक्रम तय गरिएको हो । 
फाउन्डेसनले लुम्बिनीमा सञ्चार, पानी र विद्युत्को समेत व्यवस्था मिलाइदिने प्रतिबद्धता जनाएको छ । भगवान् गौतम बुद्ध २ हजार ६ सय वर्षअघि लुम्बिनीमा जन्मिएका थिए ।
हालका वर्षहरूमा चीनले बुद्ध धर्मप्रति स्नेह उदार भाव राख्दै आएको छ, जसलाई परम्परागत संस्कृति सँगसँगै ताओ धर्म र कन्फ्युसियानिज्मको निकट रहेर विश्लेषण गरिएको छ । 'लुम्बिनीले धर्म, विचार र जातीयताभन्दा पनि माथि रहन प्रेरित गर्नेछ भन्ने लागेको छ,' बुद्ध धर्मका अनुयायी एवं फाउन्डेसनका कार्यकारी उपाध्यक्ष जियाओ वुनानले भने ।

No comments:

Post a Comment

Blogger Widgets