Blogger Templates

गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री प्रचण्ड

२६ मंशिर २०६५ 
कास्कीको ढिकुरपोखरी गाविस वडा नं. २ मा वि.सं. २०११ साल मंसिर २६ गते जन्मिएर वि.सं. २०१९ सालमा चितवनमा बसाइ सर्नुभएका नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’ वि.सं. २०२८ सालबाट राजनीतिमा प्रवेश गर्नुभएको थियो। चितवनको नारायणी विद्यामन्दिर माविमा कक्षा १० सम्म छविलाल दाहालको नाममा पढेपछि एसएलसी दिनुअगाडि उहाँले आफ्नो नाम पुष्पकमल बनाउनुभएको थियो। वि.सं. २०२६ सालमा एसएलसी उतीर्ण गरी आईएस्सी पाटन संयुक्त क्याम्पसबाट गर्नुभएका दाहालले वि.सं. २०३३ सालमा कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर, चितवनबाट कृषि विज्ञानमा स्नातक (बीएस्सी एग्री) गर्नुभएको थियो।
 सानैदेखि सामाजिक विषयमा चासो राख्ने प्रचण्डले चितवनको नारायणी विद्या मन्दिर, नवलपरासीको डन्डा मावि र केही वर्षगोरखाको आरुघाटस्थित भीमोदय माविमा अध्यापन गर्नुभएको थियो। उहाँले अमेरिकी सहयोग नियोगमा वि.सं. २०३२ सालमा केही समय काम गर्नुभएको थियो। मुक्तिराम दाहाल र भवानी दाहालका सुपुत्र प्रचण्डका अहिले तीन छोरी र एक छोरा छन्। माहिली छोरी रेणु हाल सभासद् हुनुहुन्छ भने छोरा प्रकाश पनि माओवादी पार्टीमा सक्रिय कार्यकर्ता हुनुहुन्छ। उहाँ चार नातिनातिनाका हजुरबुबा पनि हुनुहुन्छ।
वि.सं. २०२८ सालमा पुष्पलाल समूहमा पार्टी सदस्यता लिएर राजनीतिक जीवन प्रारम्भ गर्नुभएका प्रचण्ड २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गर्दै वि.सं.२०३५ सालमा पूर्णकालीन कार्यकर्ता बन्नुभएको थियो। वि.सं.२०३६ सालमा चितवन जिल्ला समिति सदस्य निर्वाचित हुनुभएका प्रचण्ड वि.सं. २०३८ सालमा क्षेत्रीय ब्यूरो सदस्य एवम् अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव हुँदै भूमिगत जीवन शुरू गर्नुभएको थियो र भूमिगत जीवन वि.सं.२०६३ सालसम्म जारी रहेको थियो।
वि.सं. २०४२ सालमा 'मसाल’ को केन्द्रीय समितिको पोलिटब्यूरो सदस्य बन्नुभएका प्रचण्ड वि.सं.२०४६ सालमा नेकपा ९मसाल० को महामन्त्री र वि.सं.२०४८ सालमा नेकपा (एकता-केन्द्र) को महामन्त्री बन्नुभएको थियो। वि.सं.२०५१ सालमा नेकपा (माओवादी)को महामन्त्री भई वि.सं. २०५२ फागुन २ गतेबाट जनयुद्ध प्रारम्भ गर्नुभएका प्रचण्ड वि.सं. २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा ९माओवादी०को अध्यक्ष बन्नुभएको थियो। वि.सं. २०५८ सालमा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर बन्नुभएका प्रचण्डले प्रधानमन्त्री हुनुभन्दा केही घण्टाअगाडि मात्र सो पद त्याग गर्नुभएको थियो। भूमिगतकालमा उहाँ कल्याण, विश्वास, प्रचण्ड, निर्माणजस्ता नामले चिनिनुहुन्थ्यो।
सात राजनीतिक दलबीच भएको १२बुँदे सहमतिको जगमा भएको जनआन्दोलन सफल भएपछि गठित सरकारसँग वार्ता प्रारम्भ गर्ने क्रममा वि.सं. २०६३ असार २ गते प्रधानमन्त्रीनिवास बालुवाटारमा पत्रकारसामु र वि.सं. २०६३ फागुन १ गते खुल्लामञ्चबाट आमजनतासमक्ष प्रचण्ड सार्वजनिक हुनुभएको थियो। वि.सं. २०६५ श्रावण ३१ गते संविधानसभाको बैठकबाट उहाँ गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ ।

No comments:

Post a Comment

Blogger Widgets