Blogger Templates

सुरक्षाकर्मीसँग आमनेसामने भई लडेका माओवादीका नेताले पहिलो पटक गृह प्रशासन समालेर सलामी ग्रहण

काठमाडौ, जेष्ठ ९ - २०६८
उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महराले आइतबार सशस्त्र प्रहरी बलको मुख्यालय निरीक्षण भ्रमण गरेका छन् । उनले सोमबार नेपाल प्रहरीको मुख्यालय भ्रमण गरेर निर्देशन दिने कार्यक्रम छ ।
उपप्रधान तथा गृह मन्त्री कृष्ण बहादुर महारा
यसअघि नै तय भएको पूर्वनिर्धारित कार्यक्रम रद्द गरी महराले गृहमन्त्री भएको दुई सातापछि आफ्नो गृह प्रशासनबारेको बुझाइ र प्राथमिकता सार्वजनिक गरेपछि यो निरीक्षण भ्रमण थालेका हुन् । महराको मुख्यालय निरीक्षण गर्ने कार्यक्रममा सरिक हुन देशभरिका उच्च अधिकृतहरू काठमाडौंमा भेला भएका छन् ।
हल्चोक प्रवेश गरेलगत्तै महराले बलका उच्च अधिकृतबाट सलामी ग्रहण गरेका थिए । एक दशकअघि तिनै सुरक्षाकर्मीसँग आमनेसामने भई लडेका माओवादीका नेताले पहिलो पटक गृह प्रशासन समालेर सलामी ग्रहण गरेका हुन् । सलामी लिएलगत्तै महरा आफ्नै लडाकुहरूले जनयुद्धका क्रममा हत्या गरेका बलका अमर प्रहरीको सालिकमा श्रद्धाञ्जलि अर्पण गर्न गएका थिए । भ्रमणका क्रममा बलका प्रमुख सनत बस्नेतले हल्चोकस्थित सशस्त्र प्रहरी कार्यालयका सबै कक्षहरूको निरीक्षण भ्रमण गराउँदै देशको ४० जिल्लामा कार्यरत बलको कार्यशैली र संगठनबारे विस्तारमा जानकारी दिएका थिए । १५ हजारको जनशक्तिबाट स्थापना भएको बलमा हाल ३१ हजार सुरक्षाकर्मी कार्यरत छन् । हल्चोकमा बलका प्रशिक्षित सुरक्षाकर्मीहरूले दैविप्रकोपको र अपहरणमा गरिने उद्धारका आकर्षक उदाहरणसमेत प्रदर्शन गरेका थिए ।
महराले निरीक्षणपछि आयोजित भेलामा ‘बलको कार्यालय व्यवस्थापन र कार्यशैली देख्दा सोचेभन्दा एक तह बढी हौसला बढेको’ बताएका थिए । ‘कान्छो संगठन भएर पनि सक्षम र उदाहरणीय हुन सकेको भनी प्रशंसा गर्दै उनले सबै दल र जनतालाई हरेक कार्यमा समान व्यवहार गर्न निर्देशन दिएका थिए ।’
महराको भनाइ उद्धृत गर्दै निरीक्षण भ्रमणमा संलग्न गृहप्रवक्ता सुधीर शाहले भने, ‘माओवादी तत्कालीन राज्य सत्ताको विरोधमा लडेकै हो, परिवर्तन र शान्तिको एजेन्डा लिएर माओवादी अहिले सरकारमा आएको छ ।’ तर अब त्यो कुरा बिर्सौं भन्दै महराले अब सुरक्षा निकाय र माओवादी एउटै परिवारका सदस्यझैं भएको बताए । उनले द्वन्द्वका बेलाका कुनै आग्रह र पूर्वाग्रहलाई रहेको भए त्यसलाई बिर्सेर कार्य गर्न निर्देशन दिएका थिए ।
महराले सुरक्षा निकायको अन्तिम शक्तिकेन्द्र गृहमन्त्री नै हो, चेन अफ कमान्डको कडाइका साथ पालना गुर्नस् भन्दै उनले अवसरका लागि कुनै शक्तिकेन्द्र नधाउन पनि सम्बोधनका क्रममा चेतावनी दिएका थिए ।
मन्त्री महरा पुग्नु केहीअघि हल्चोक मुख्यालय पुगेका गृहसचिव लीलामणि पौडेललाई पनि बलका प्रमुख सनत बस्नेतले सलामी दिएर बलको कार्यशैलीबारे सविस्तार जानकारी गराएका थिए । मन्त्रीसँगैको निरीक्षण भ्रमणमा सचिव पौडेल, शान्ति सुरक्षा महाशाखाका प्रमखु शाह, प्रशासन महाशाखाका प्रमुख प्रेम राई, सचिवालयका उपसचिव ऋषि शर्मा लगायतका झन्डै एक दर्जन अधिकारी सहभागी थिए । बिहान ११ बजे प्रवेश गरेका मन्त्री महरासहितको टोली निरीक्षण भ्रमण गरेपछि दिवा भोजन गरेर २ बजे मन्त्रालय फर्केको थियो ।

No comments:

Post a Comment

Blogger Widgets