Blogger Templates

'ज्याला पूरै लियौ, अब संविधान देऊ'

काठमाडौं, २४ वैशाख २०६८ 
 पछिल्ला केही दिनदेखि इन्टरनेटको सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा चाखलाग्दो तर गम्भीर नारा सार्वजनिक भएको छ, 'ज्याला पूरै लियौ, अब संविधान देऊ' । सञ्जाल प्रयोगकर्ताले सत्ता मोहको किचलो त्यागेर बेलैमा संविधान बनाउन नेतालाई आह्वान गरेका छन् । उनीहरूको इन्टरनेट आह्वान शनिबारदेखि सडकमा सार्वजानिक रूपमा आएको छ । फेसबुक र ट्वीटरकै सूचनाका आधारमा शनिबार दिउँसो माइतीघरमा भेला भएका युवा जमातले मण्डलामा उभिएर भन्यो, 'हामीलाई बेलैमा संविधान देऊ ।
संविधान बन्न बीस दिन बाँकी रहँदा करिब २ सयको संख्यामा आएका युवा दलका नेताहरूको दोहोरो चरित्रको व्यवहारप्रति निराश थिए । राजधानीका मध्यम वर्गीय तथा विदेशी नियोग, गैरसरकारी तथा वित्तीय संस्था, शैक्षिक संघसंगठनमा कार्यरत, मिस नेपालमा सहभागी तथा एक जना सभासद सुनिलबाबु पन्त पनि युवाले सुरु गरेको यो अभियानमा सरिक थिए । वातावरण क्षेत्रमा कार्यरत अनिल चित्रकार लगायत केही उपस्थितले संविधान निर्माणमा भएको विलम्बमाथि धारणा व्यक्त गरे ।
'यो अभियान कोही नेता वा एनजिओ/आइएनजिओको सहयोगमा भएको होइन, स्वस्फूर्त हो', चित्रकारले भने, 'यसको नेता हामी सबै हौं, सार्वजनिक रूपमा हामी एकजुट भएर शक्ति र पद हत्याउन अन्तहीन झगडामा लागेका नेतालाई खबरदारी गर्न सजिलो हुन्छ ।' नेताहरूले जनादेशको अपमान गरेको, शान्ति र संविधान बनाउने जनताको आकांक्षामाथि विश्वासघात गरेको उनीहरूले आरोप लगाए ।
'आफै निराश हाम्रा नेतासित अब आस मरिसकेको छ, उनीहरूसित भविष्यको सपना पनि छैन, बाचा पूरा गर्ने ताकत पनि छैन', सहभागी स्तुति बस्नेतले भनिन्, 'भाषणबाजीबाट हामी थाकिसकेका छौं । जनताको पैसाबाट तलब खाने उनीहरूले संविधानसभाको आयु अन्तहीन लम्ब्याउनु हुन्न । हामी सभासदले आफ्नो जिम्मेवारी समयमै पूरा गरेको हेर्न चाहन्छौं ।'
उपस्थितले मण्डलामा गोलबद्ध भएर ऐक्यबद्धता जनाए । अभियानमा सहभागी युलेनस कलेजका अध्यापक बाबुराम निरौलाले नेताको दिमाग बोदिंदै गएकाले 'अति भएपछि तिखार्न' अभियानमा सहभागी भएको बताए । 'हाम्रा नेता गफ गर्न सक्छन् तर संकट व्यवस्थापन गर्न सक्षम देखिएनन्', उनले भने, 'यसले युवामा निरासा बढाएको छ । यो पक्कै राम्रो संकेत होइन ।'
यस्तो सामाजिक सञ्जालमार्फत हुने बहसले आमचिन्ताका विषयमा बहस थाल्न सकिने, विचार र अवधारणहरू सार्वजनिक गर्न सकिने भएकाले निराश युवालाई आशावादी बनाउन सकिने अभियानकर्ताले बताए । उनीहरूले परिवर्तनका लागि नेपाली एक हुनुपर्ने धारणा पनि सार्वजानिक गरेका छन् ।

No comments:

Post a Comment

Blogger Widgets