Blogger Templates

चिरन्जीबी पछी कसको पालो

काठमाडौं, चैत्र ७ - पूर्व मन्त्री चिरञ्जीवी वाग्लेलाई कैद सजाए सुनाएलगत्तै सर्वोच्च अदालतले भ्रष्टाचारका अरु मुद्दाको सुनुवाइ थालेको छ । पदीय दुरुपयोग गरी अस्वाभाविक र आश्चर्यजनक सम्पत्तिसहित उच्चस्तरको जीवनस्तर यापन गरेको मुद्दा खेपिरहेका पूर्व प्रहरी प्रमुख प्रदीप शमशेर जवरालाई आइतबार सर्वोच्चले इजलाशमा हाजिर हुन बोलाएको छ ।
उनीविरुद्ध अख्तियारले ३ करोड ७७ लाख रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लगाउँदै २०६१ साउन ३२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसको ६ वर्षपछि गत बैशाख २९ गते विशेष अदालतले उनलाई स्रोत खुलेको भन्दै सफाइ दिएको थियो ।
त्यस विरुद्ध अख्तियारले गरेको पुनरावेदनमा सर्वोच्चका न्यायाधीशद्वय प्रेम शर्मा र भरतराज उप्रेतीको संयुक्त इजलाशले आइतबार 'झगडिया झिकाउने आदेश' दिएको हो । 'झगडिया झिकाउने भनेको प्रतिवादीलाई अदालतमा बोलाउने काम हो' सर्वोच्चका सहायक प्रवक्ता हेमन्त रावलले भने,'सुरुको फैसलामा केही उल्टी हुने देखियो भने यस्तो आदेश दिइन्छ ।'
प्रदीप शमशेर, उनकी पत्नी शान्ता र छोरा दीप शमशेरविरुद्ध मुद्दा दायर भएको थियो । ०२७ पुस १४ मा प्रहरी निरीक्षकमा जागिरे राणा २०५९ पुस १४ गते प्रहरी प्रमुखबाट अवकाश पाएका थिए । एक पटक वर्ष दुई वर्षका लागि सेवा अवधि थप भएकाले उनी चार वर्षसम्म प्रहरी प्रमुख भएका थिए ।
अख्तियारको दावी अनुसार, उनले प्रहरी निरीक्षक भएपछि उनले काठमाडौं बााके, पर्सा, रौतहट, कास्की लगायतका ठाउँमा ८३ कित्ता जग्गा किनेका थिए । छोटो अवधिमा त्यतिको बढी परिमाणको रकमको कारोबार एउटा राष्ट्रसेवकको हुन सक्ने देखिदैन' अख्तियारको प्रतिवेदनमा भनिएको छ । प्रतिवेदन अनुसार २०५८ भदौ ५ गते मात्रै उनको बैंक खातामा ५० लाख जम्मा भएको थियो ।
प्रहरीमा जागिर खानुअघि उनले २०२५ जेठ २ गते बाँकेको टिटीहरियामा १९ बिघा २ कट्ठा ९ धुर जग्गा किनेका थिए । उनले २०४९ मा अंशवण्डामा थापाथलीमा १ आना २ पैसा २५ दाम जग्गा पाएका थिए । 'पुख्र्यौली सम्पत्तिमा केही फर्निचर, अलिअलि सुन चाँदीका गहना र भाडाकाुडा मात्र प्राप्त भएको हो' अख्तियारको प्रतिवोदनमा उनले भनेका छन्- 'बाँकी सम्पत्ति मेरो, श्रीमतीको र छोराको जागिर र २ वटा घरको भाडाबाट प्राप्त आयस्रोत र खेतीको प्राप्त आय समेतबाट ३२ वर्षको दौरानमा जोडिएका सम्पत्तिहरु हुन् ।'
अख्तियारले छानबिन गर्दाताका उनीसँग विभिन्न जिल्लामा दर्जनौं कित्ता जमिन थियो । उनले काठमाडौंको बत्तिसपुतली, नयाँबानेश्वर र थापाथलीमा घर बनाएका छन् भने चितवनमा पनि उनको घर छ ।
उनी श्री ३ देव शम्शेर खलकका कर्णेल ढुण्डीराजका छोरा हुन् । 'हाम्रो पुख्र्यौली बसोबास थापाथलीको डाँडामा पूरै भोग चलन गरी बसेका हुन्, मेरो बाजेको मात्र थापाथलीमा १५० रोपनी जग्गा थियो' उनले अख्तियारको बयानमा भनेका छन्,'नयाँ माइतीघर एयरपोर्ट सडक बन्दा हाम्रा परिवारको करिब १७५ रोपनी जग्गा मूल सडकमा पर्न गई सबै जग्गाको मूल्य बढ्न गएको थियो । मेरो बुवाको भागमा पनि थापाथलीको पुरानो फलामे पुल देखि प्रसूती गृह सम्म करिब १६ रोपनीको घर जग्गा कम्पाउण्ड थियो । यी बाहेक तराईमा कोशी टप्पु क्षेत्र सुनसरी बाराको मझरीया र बाँके, बर्दियाको कुम्भर क्षेत्रमा मेरो बाजेको करीब एक हजार बिघा जति जग्गाहरु थिए । प्राय जग्गाहरु भूमि सम्वन्धी ऐन लागु भएपछि हदबन्दीका कारण वितरण भए भने केही जग्गाहरु बिक्री गरी गर गहना, हिरा जवारत, सुन चाँदीहरु खरिद गरी बाजेले चारवटै छोराहरुलाई दिएका थिए ।'
प्रदीपले आफ्नो यति धेरै सम्पत्ती हुनुमा पत्नीको कमाइ र ससुरालीको स्तरलाई पनि मानेका छन् । उनकी पत्नी शान्ता अञ्चलाधीश टेक बहादुर रायमाझीकी छोरी हुन् । २०२९ मा उनीहरुको बिहा भएको थियो ।  विवाहमा पैतालिस हजार नगद, ३५ तोला सुन, १० किलो चाँदीको भाडाकुँडा, हिरा र पन्नाको एकएक थान गहना दाइजोमा पाएको उनले बताएका छन् । 'मैले ०२७ पौष १४ गतेबाट प्रहरी निरीक्षकको पदबाट र मेरी श्रीमती शान्ता राणाले सहायक प्राध्यापकको रुपमा २०३० सालमा श्रावणबाट जागिर खाई दुवैको आय शुरु भएको हो' उनले भनेका छन्- 'रासनबाट पनि खर्च चल्ने र पैतृक हैसियत अत्यन्त राम्रो भएकाले हाम्रो आय बचत भै रह्यो । सम्पति न्यायिक जाँचबुझ आयोगको श्रोत पुष्टि नभएको भन्ने प्रतिवेदन व्यहोरा गलत एवं हचुवा हो ।
उनकी पत्नीको नाममा एनआइसी बैंक, हिमालयन बैंक, बोटलर्स नेपाल र एस फाइनाइन्समा सेयर लगानी थियो । त्यस्तै उनले बाबा डिस्टिलरीमा शेयर लगानी गरेका थिए भने छोरा दीपले ओरियन्टल होटलमा लगानी गरेका थिए । ओरियन्टलमा उनकी पत्नीले पनि लगानी गरेको देखिन्छ ।
'पदमा रहादा निजले प्राप्त गरेका वैध आयको तुलनामा सेवाबाट अवकाश प्राप्त गर्दाको आर्थिक स्थिति वा जीवनस्तर अमिल्दो र अस्वाभाविक रुपमा परिवर्तन भएको' अख्तियारको प्रतिवेदनमा उल्लेख छ ।

No comments:

Post a Comment

Blogger Widgets