Blogger Templates

टाटु प्रेमीहरुको छुट्टै संसार



१६ बैशाख२०६८ 
राजधानीमा यसै साता सम्पन्न अन्तर्राष्ट्रिय टाटु सम्मेलनमा स्वभाविक, अनौठा अनि डरलाग्दा टाटु कुँदाउनेहरूको कमी थिएन। आखिर सुन्दर शरीरमा कहिल्यै नमेटिने खत हुने गरी किन टाटु कुँदाउने ? 'आमाले कुँदाउनुभएको थियो, मैले पनि कुँदाएँ, सुन्दर कला भएकाले मन पर्‍यो,' ललितपुर मंगलबजारकी भरना शिल्पकारले तिघ्राभरि कोरिएको सुन्दर टाटु देखाउँदै भनिन्। भारत नयाँदिल्लीका ७० वषर्ीय हरप्रकाश ऋषिले सुन्दर शरीरमा गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाउनकै लागि टाटु कुँदाएका हुन् त ? उनले शरीरमा सबैभन्दा बढी मुलुकको टाटुको झन्डा बनाउने तीनवटा रेकर्ड बनाइसकेका छन्। 'म मरेपछि भूत बनेर विना राहदानी र भिसा संसारको परिक्रमा गर्न चाहन्छु, त्यही भएर टाटु कुँदाएको,' उनको जवाफ थियो।

राजधानीमा व्यवसाय गरेर बसेकी फिनल्यान्डकी एक युवतीले ढाडमुनिको एक कुनामा चिलको टाटु बनाइन्।

'
चीलझैं खुला आकाशमा उड्ने चाहना छ, ' उनले भनिन्। अत्याधुनिक संयन्त्रसहित जिब्रो, नाइटो र जनेन्दि्रय छेड्ने विशेषज्ञहरूसमेत आएकाले सम्मेलनमा रोचकता थपिएको थियो। स्वदेशी एवं विदेशी सबैले उत्तिकै जोस र ऊर्जाका साथ यो अवसरको लाभ उठाए। केटा साथीसँग आएकी असनकी एक युवतीले मात्र ५ सय रुपैयाँ खर्चेर जिब्रोलाई आरपार छेडिन्।

नाइटोवरिपरि टाटु बनाएकी ठमेलकी दिव्या महर्जनले भनिन्, 'अरे यार, आफ्नो शरीर हो, केको टेन्सन, जे गरे भैगयो नि ?' उनले सुन्दर एवं आकर्षक शरीरले ब्वाइफ्रेन्डलाई लोभ्याउने हुनाले यस्तो गरेको बताइन्। 'ऊ खुसी छ, अरूको के मतलब ?' महर्जनले भनिन्।

सम्मेलनभरि दरबारमार्गस्थित होटल याक एन्ड यतिको ग्यालरी र परिसर टाटु जोडीले भरिएको देखियो। केटी साथीले टाटु कुँदाउँदा केटाले र केटा साथीले टाटु कुँदाउँदा केटी साथीले कुरिरहेको देखिन्थ्यो। उनीहरू सम्मेलनभरि ग्यालरीको वरण्डामा दुवैतिर लहरै बसी रमाइलो गरिरहेको दृश्य पनि मनमोहक थियो। सम्मेलनभरि टाटु कलाको मात्र नभएर प्रेम र भावना साटासाटको समेत माध्यम बनेको थियो।

'
म खुट्टामा कुँदाउँदैछु, ' असनका निश्चल बज्राचार्यले भने, 'मेरी साथीले गालामा टाटु बनाउँछे।' टाटु सम्मेलनले एक थरीका सहरिया युवा पुस्तामा आएको परिवर्तन र खुलापनलाई छर्लङ्ग पारेको थियो। टाटुले मन र शरीरको सबै सीमा तोडेको थियो। सम्मेलनमा हजारौं रुपैयाँ खर्च गरेर युवायुवती, अधवैंसे तथा वृद्धवृद्धाहरूले समेत टाटु कुँदाएको देखिए पनि यसले पार्ने दीर्घकालीन असरका सम्बन्धमा भने कमैलाई जानकारी थियो। पूर्वजानकारीभन्दा पनि अधिकांश मित्रजनको लहैलहै एवं देखासिकीमा टाटु कुँदाउन हौसिएका देखिए।

संस्कृतिविद् हरेराम जोशीले प्राचीन कालमा वंश (सूर्य, चन्द्र र नाग वंश आदि) देखाउन र रोग निवारणका लागि टाटुको प्रयोग हुने गरेको बताए। शोधअनुसार सन १९९१ मा अष्ट्रिया र इटालीको बीचको पर्वतीय क्षेत्रमा हिउँमा फेला परेको एक आदि मानवको घुँडा, मृगौला र गोलीगाँठोमा ५७ वटा टाटु फेला परेको थियो। ५ हजार वर्ष पुरानो मानिएको उक्त मानव शरीरमा रोग निवारणका लागि टाटु गरिएको शोधहरूमा उल्लेख छ।

'
अहिलेको पुस्तालाई संस्कृतिसँग के मतलब, अहिले त फेसनका लागि यसको प्रयोग हुन थालेको छ,' संस्कृतिविद् जोशीले भने, 'मनपरी हिसाबले बक्सर, कुस्तीबाज, अभिनेता, अभिनेत्री तथा गायक-गायिकाले आफूलाई फरक देखाउन यसको प्रयोग गर्छन्।' आयोजकहरूका अनुसार तीन दिवसीय सम्मेलनमा सहभागी ७ हजारमा १५ प्रतिशतले टाटु कुँदाए भने टाटु कलाकारहरूले पनि राम्रै आम्दानी गरे।

'
डाक्टरसँग सोधेको छैन, सोध्नु पर्ला र ?' एक युवकले भने। आयोजकहरूले समेत त्यहाँ चिकित्सक र विशेषज्ञ राखेका थिएनन्। 'पहिलो पटक यति ठूलो सम्मेलन गरेको हुनाले अनुभव भएन, यस दिशामा ध्यान जान सकेन,' प्रमुख आयोजक विजय श्रेष्ठले भने, 'छालारोग विशेषज्ञ, लेजर र कस्मेटिक विशेषज्ञ राखेको भए राम्रो हुन्थ्यो।' निःसन्देह टाटु प्राचीन एवं सुन्दर कला हो। तर, लहैलहै, लहड र हतारमा टाटु कुँदाउँदा हुन सक्ने परिणामका सम्बन्धमा पनि विचार पुर्‍याउनुपर्छ। सचेत र सावधान नभए टाटुले विभिन्न रोग निम्त्याउन सक्ने चिकित्सक एवं विशेषज्ञहरू बताउँछन्।

छाला तथा यौन रोग विशेषज्ञ डा. सञ्जु बाबु श्रेष्ठले छालाको संक्रमण, बढिरहेको दुबी, एलर्जी हुने र खत बढ्ने समस्या भएकाले टाटु कुँदाउन नहुने बताए। 'यस्तोमा टाटु गराए रोग अझ बिगि्रन्छ,' उनले भने। छालामा संक्रमण, सुईले छेड्दा अत्यधिक रगत आउने समस्या भएका र सरुवा रोग भएकाले टाटु गराउनुअघि चिकित्सकको सल्लाह लिनुपर्ने डा. श्रेष्ठले बताए। एकपटक प्रयोग भैसकेको सुईले फेरि टाटु बनाउँदा प्रयोगकर्तामा टिटानस, एचआईभी एड्स, हेपाटाइटिस, सिफलिस, क्षयरोग र कुष्ठरोग समेत सर्न सक्ने डा. श्रेष्ठले जानकारी दिए। रंगको स्तरीयता र टाटु कलाकारको दक्षताका सम्बन्धमा पूर्वजानकारी राख्नुपर्ने उनले बताए।

विशेषज्ञहरूका अनुसार संसारभरिका दक्ष टाटु कलाकारहरूले नीलो र कालो रंगका लागि कार्बन, राताका लागि सिनाबार र मर्करी सल्फेट, हरियोका लागि क्रोमिक अक्साइड र पहेंलोका लागि क्याटमियम सल्फेट आदि रसायन प्रयोग गर्छन्। 'रंगको ब्रान्ड र आधिकारिकताका सम्बन्धमा पनि बुझ्नु जरुरी छ,' उनले भने।

डा. श्रेष्ठका अनुसार चिकित्सा विज्ञानमा समेत चोटपटक र खत लागेको ठाउँलाई छोप्न र आँखीभौं नभएकाका लागि राम्रो देखाउन टाटुको प्रयोग हुन्छ। विशेष समूह तथा युवापुस्ता लहडमा टाटु कुँदाउने र फुर्सदमा पछुताउने गरेको देखिएको उनले बताए।

'
टाटु कुँदाउने उद्देश्य स्पष्ट हुनुपर्छ, रहरमा कुँदाए पनि पछि मन नपर्न सक्छ, टाटु चित्र र अक्षर कुँदाउँदा र पछि निकाल्दा उत्तिकै खर्च हुन्छ।' स्वदेशमा टाटु निकाल्दा झन्डै २० हजार रुपैयाँको हाराहारीमा खर्च हुन्छ। नेपालीहरूले टाटु कुँदाउन न्यू्नतम १ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म खर्च गर्छन्। सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा लेजर एवं कस्मेटिक शल्यक्रिया विशेषज्ञका रूपमा कार्यरत डा. श्रेष्ठका अनुसार 'जो पायो, त्यहीसँग र जुन रंगले मन लाग्यौं त्यही रंगले टाटु कुँदाउनु हुँदैन,' उनले भने, 'सबैलाई सबै रंग उपयुक्त हुँदैन, कुनै रंगले एलर्जी पनि हुनसक्छ।'

छ वर्षको अवधिमा रंगले एलर्जी भएका एक महिला र दुई पुरुषको शल्यक्रिया गरेर आफूले टाटु निकालेको उनले बताए। डा. श्रेष्ठले भने, 'शल्यक्रिया गरेर निकाल्दा पनि खत बस्छ।' भारतको नयाँदिल्लीस्थित टाटु गिज्मोका कला प्रमुख अरविन्द गर्गले एसियाली बजारमा स्वास्थ्यवर्द्धक र उच्चस्तरका युरोपेली एवं अमेरिकी ब्रान्डका सुई, मसी र मेसिन आइसकेकाले उपभोक्ताहरू सचेत रहनुपर्ने बताए। गर्ग भारतबाहेक बैंकक र न्युयोर्कमा समेत टाटुका सामग्रीहरू बिक्री गर्छन्। 'बुझेर गराउनुस्, पछुताउनु पर्दैन,' उनले भने, 'इन्टरनेटमा पहुँच भएकाहरूले गुगल र याहु सर्चमा गएर यस विषयमा सहजै जानकारी हासिल गर्न सक्छन्।'

No comments:

Post a Comment

Blogger Widgets